धनगढी पोष्ट
आइतबार, १३ कार्तिक २०७९ मा प्रकाशित
धनगढी । आज छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कैलालीको धनगढीसहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि (सोमबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
यस्तो छ छठ पर्वको ब्रतविधि
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिने विधिविधान छ ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास समेत छ ।
वि.सं. २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । वि.सं. २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।
दुलही झै सजाइयो मोहनाघाट
सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वका लागि धनगढीको मोहना घाट बेहुली झैँ सिगारिएको छ ।
आस्थाको महापर्व मानिएको छठका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी दुलहीझै सिंगारिएको छ । शनिबार मोहना घाटमै पत्रकार सम्मेलन गर्दै छठको मुख्य दिनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
पूजास्थल सजावटका लागि बच्चादेखि वृद्धसम्मका मानिसहरू जुटेका थिए । घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए ।
निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ ।
मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । सूर्य भगवानको प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण गरिएको छ । देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याई प्रतिमा निर्माण तथा सिंगारपटार गरिएको छ ।
मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ । छठ पूजाका लागि ११ लाख लाग्ने अनुमान गरिएको छ ।
यसपालि कोरोनाको महामारी नभएकाले पर्व मनाउन निकै सहज भएको बर्तालुहरू बताउँछन् । यो वर्ष कोभिड–१९ को संक्र्रमणको महामारी न्यून भइसकेकाले बर्तालु र दर्शनार्थीहरुको भीडभाड निकै बढ्न सक्ने आयोजकले अनुमान गरेको छ ।
यस पर्वको प्रारम्भ हिजो बर्तालुहरुले ‘नहाय–खाय’ विधिबाट सुरु गरेका छन् । छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गर्ने गरिन्छ ।
विगत लामो समयदेखि छठ पूजा सेवा समितिले धनगढीको मोहना घाटमा छठ पूजाको आयोजना गर्दैै आएको छ ।