धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
शहरी क्षेत्रमा बढ्दै आगलागीका घटना

किन बढ्दैछ आगलागी

धनगढी । कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार पछिल्लो समयमा शहरी क्षेत्रमा विद्युत सर्ट नै आगलागीको प्रमुख कारण बन्दै गएको छ । ‘पसलहरु बन्द गर्नु भन्दा अगाडि विद्युतका बटन बन्द नगर्ने र विद्युतिय उपकरणहरुबाट शहरी क्षेत्रमा आगलागी भईरहेको पछिल्लो घटनाहरुले देखाउँछ’ उनले भने । उनले बजार क्षेत्रको आगलागीको मुख्य कारण भने विद्युतीय सटसर्किटसंगै ग्यास सिलिन्डर पड्कनु, ग्यास लिक हुनु र धूप बाल्ने चलन आदि रहेको बताए ।

उनले जिल्लाका अन्य क्षेत्रमा मौसम अनुसार आगलागीका घटनाका कारणमा फरक–फरक देखिने गरेको बताए । सुुख्खा तथा हावाहुुरीको मौसम, बच्चाहरूले सलाई लाइटर जस्ता बस्तु खेलाउने, खेतमा आगो लगाउँने क्रममा घर, बस्ती र जङ्गलमा आगो लाग्ने गरेको उनले बताए । उनी भन्छन– ‘यसरी सानो गल्तीको कारण छोटो समयमा ठुलो धनजनको क्षति हुने गरेको छ ।’

नेपाल रेडक्रस सोसाईटी कैलालीका अध्यक्ष उत्तम जोशीले आगलागीको जोखिम बढ्नु तथा क्षति धेरै हुनुमा धेरै कारण रहेको बताए । उनका अनुसार निरोधात्मक उपायको कमी, पुर्व तयारीमा लगानी अभाव, भएका दमकल पुरानो हुनु, सतर्कताको सूचना प्रसार गर्ने प्रभावकारी प्रबन्ध नमिलाइनु, बहुआयामिक अग्नि नियन्त्रण पद्धति अपनाउन ध्यान नदिनु जस्ता कारणले आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिएको छैन ।

उनले विगतका घटनाबाट पाठ सिकेर त्यसलाई शहरी विकासको योजनामा समेट्न नसक्नु हेलचेक्र्याई रहेको बताए । ‘राज्य संयन्त्रले कुनै भवितव्य परे दमकललाई खबर गरे यथाशक्य चाँडै नियन्त्रण हुन्छ भन्ने जनविश्वास दिलाउनु जरूरी छ । यसको लागि रणनीतिक योजना र उपयुक्त कार्ययोजना चाहिन्छ’ उनले भने ‘हामीले आगलागीको कुरा गरिरहेकाले दमकल पो प्रभावकारी बनाउनुपर्ने रहेछ जस्तो लाग्न सक्छ । तर, समग्रमा सबै नगरवासीको सुरक्षाका लागि व्यवस्थित शहरीकरणको विकल्प छैन । किनकि आगलागी जस्ता धेरै विपत्को एकीकृत सम्बोधन व्यवस्थित बस्ती विकास र शहरीकरणले गर्ने हो ।’

उनले शहरका हरेक क्षेत्रमा वरुणयन्त्र सहजै जानसक्ने सडकको व्यवस्था गर्नुपर्ने बताए ।