धनगढी पोष्ट
मङ्गलबार, २३ असार २०७७ मा प्रकाशित
डडेल्धुरा
वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सड अवरुद्ध भएका छन् ।
डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ । डडेल्धुराको बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध भएपछि यातायातका साधन चल्ने अवस्थामा नरहेको यातायात ब्यबसायीले बताएका छन् ।
अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक लगातारको वर्षाले खाल्डाखुल्डी र हिलाम्मे भएर चिरा परी भासिँदै गएको अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । दैनिकजसो जिल्ला सदरमुकाम आवत जावत गर्ने र घर फर्किन लागेका यात्रुलाई ग्रामिण सडक लगातारको वर्षाका कारण अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको स्थानीयको भनाई छ ।