धनगढी पोष्ट
मङ्गलबार, २३ असार २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २९ जना, धुलीखेल अस्पताल काठमाडौं प्रयोगशालामा ५४ जना, सेती प्रादेशीक अस्पताल धनगढी प्रयोगशालामा २२ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ जना गरि आज १ सय ११ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछाम ११ जना, बैतडीका ११ जना र डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज नै धुलीखेल अस्पताल काठमाडौंमा बाजुराका ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराकै ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी आज नै सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ महिला र १४ पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशीक अस्पताल धनगढीका अनुसार आज थपिएका संक्रमितहरुमा अछामको मेल्लेख गाउँपालिकाका २ महिला ३ पुरुष गरि ५ जना, कैलालीको लम्की चुहाका ३ महिला १० पुरुष गरि १३ जना र कैलालीकै गोदावरी नगरपालिकाका ३ महिला १ पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।