प्रदेश सभा बैठक

प्रतिपक्षको सहभागिता बिनै बजेट पारित गर्ने तयारी

प्रतिपक्षको सहभागिता बिनै बजेट पारित गर्ने तयारी

धनगढी

 सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट संसदमा छलफल नै नगरी प्रतिपक्षको सहभागिता बिनै पारित गर्ने तयारी गरेको छ ।

 आज दिउसो २ बजे बस्ने प्रदेश सभा बैठकबाट बजेट पारित गर्ने तयारी सत्तापक्षले गरेको  छ । प्रदेश सभा सचिवालयका सचिब रामसिं धामीका अनुसार आज बिहान ८ बजे बसेको प्रदेश सभा बैठकबाट बजेट पारित गर्ने तयारी रहेको भए पनि सत्ता पक्षका एक दुई जना प्रदेश सभा सदस्यले वोल्न बाँकी रहेकाले दिउसो २ बजे पारित गर्ने कार्यसुची नै रहेको छ । आज बिहानको प्रदेश सभा बैठकमा प्रतिपक्षले नाराबाजी गरे पनि नाराबाजीकै बिच प्रदेश सभा बैठक संचालन गरिएको थियो ।

 प्रदेश सभामा प्रतिपक्षी दलहरूनेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै गत १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित भइरहेको छ । प्रतिपक्षी दलहरूका सवालहरूमा खासै चासो नदिएको सुदूरपश्चिम प्रदेश सरकारले संसदमा विरोधबीच नै बजेट पारित गर्ने तयारी थालेको हो ।

 संसदमा निरन्तरको विरोधबीच सरकारले सहमतिका लागि भन्दै केही चरणमा प्रतिपक्षी दलहरूसंग वार्ता, छलफल गरे पनि उनीहरूका सवाललाई गम्भीरतापूर्वक नलिएको प्रतिपक्षीहरूको आरोप छ ।