धनगढी पोष्ट
बुधबार, २४ असार २०७७ मा प्रकाशित
धनगढी
भारतमा कार्यरत पुर्व कर्मचारी नेपालीहरु (पेन्सनहोल्डर) लाई पेन्सन बुझ्नका लागि बैतडी र दार्चुलाका तीन नाका तीन दिनका लागि खोलिएका छन् । असार २४ देखि २६ गतेसम्मको यस अवधिमा आपतकालीन अवस्थामा रहेकाहरुले पनि आवतजवावत गर्न पाउने भए पनि अरुका लागि भने खुला गरिएको छैनन् ।
न्सनहोल्डरुका लागि बैतडीको झुलाघाट, दार्चुलाको धार्चुला र जौलजिबी नाका खोलिएका हुन् ।
भारतका धेरै पेन्सनहोल्डरहरु दार्चलामा रहेकाले उनीहरुलाई पेन्सन बुझ्न जानका लागि सीमा नाका खुला गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए । ‘मासिक पेन्सन बुझ्न पारि (धार्चुुला) जान पाउ भनेर दुई शय जनाको निवेदन नै आएको छ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी पोखरेलले भने – ‘त्यसैले भारतीय समकक्षीसँग सल्लाह गरेर पेन्सन होल्डरहरुका लागि मात्र तीन दिन सीमा खोलेका हौं ।’
पेन्सनहोल्डरहरुले परिचयपत्र देखाएपछि सीमापारि जान पाउनेछन् । प्रजिअ पोखरेलले दार्चुला जिल्लामा करिब ५ शय जना पेन्सनहोल्डरहरु रहेको अनौपचारिक जानकारी आएको बताए ।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले पेन्सनहोल्डरहरुले चार महिनादेखि पेन्सन बुझ्न नपाएकाले उनीहरुका लागि सीमा नाका खोलिएको बताए । ‘पेन्सनहोल्डरहरले चार महिनादेखि नै पेन्सन बुझ्न नपाएकोले खोलिएको हो ।’ प्रमुखि जिल्ला अधिकारी जोशीले भने – ‘त्यसबाहेक पारिपट्ट (भारतमा) केही नेपाली र बैतडीमा केही भारतीय छन् । उनीहरुलाई पनि सीमामा जान आउन दिइनेछ ।’
प्रमुख जिल्ला अधिकारी जोशीले बैतडीमा करिब १ हजार पेन्सनहोल्डरहरु रहेको जानकारी आएको बताए ।
भारतीय सेनाबाट सेवा निवृत भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो । भारतीय पेन्सनधारीको पेन्सनवाफतको पैसा भारतीय बैंकमै आउने गर्दछ । जारी लकडाउनका कारण सीमा नाका बन्द भएपछि गएको तीन महिना यता पेन्सन पाउन सकेका छैनन् ।