धनगढी पोष्ट
आइतबार, १८ जेठ २०७७ मा प्रकाशित
पोष्ट संवाददाता धनगढी, १८ जेठ सुदूरपश्चिम प्रदेशमा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या २७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आइतबार कोरोना संक्रमण भएकाहरुमा बाजुराकी २ बर्षे बालिका र उनकी आमा समेत रहेका छन् । बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए । मृतक बालिकाका बुबाको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको निर्देशक अवस्थीले बताए । यसै गरी कैलालीको धनगढीका–३ का ३७ बर्षे पुरुष, भजनी नगरपालिका–७ का २३ बर्षे पुरुष र जानकी गाउँपालिका–९ का ३४ वर्षीय पुरुषमा पनि आइतबार कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमबाट हालसम्म पाँच जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् भने दुई जना संक्रमित कर्णाली प्रदेशमा उपचार गराइरहेका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । कुन जिल्लामा कति संक्रमित ? कोरोनाका कारण सुदूरपश्चिम प्रदेश ८ जिल्ला प्रभावित भएका छन् । अहिलेसम्मा सुदुरपश्चिमका ८ जिल्लामा २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । आइतबारसम्म सुदूरपश्चिममा पुष्टि भएका कोरोना संक्रमित मध्य सबै भन्दा बढि कैलालीमा १३ जना रहेका छन् । यस्तै बैतडीमा ५, बाजुरा र अछाममा तीन÷तीन, दार्चुला, बझाङ, कञ्चनपुर र डडेल्धुरामा एक एक जनामा कोरोना पुष्टि भएको छ । डोटी जिल्लामा हाल सम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छैन ।