धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

नवजीवनले कारोवारका आधारमा सदस्यहरुलाई २ करोड ४० लाख फिर्ता गर्ने

नवजीवनले कारोवारका आधारमा सदस्यहरुलाई २ करोड ४० लाख फिर्ता गर्ने

धनगढी । नवजीवन सहकारी संस्थाले सहकारीसँग नियमित कारोवार गर्ने सदस्यहरुलाई योगदानका आधारमा  २ करोड २ लाख ४० हजार संरक्षित पुँजी फिर्ता गर्ने भएको छ ।

सहकारीको बिहीवार धनगढीमा भएको २९ औं साधारण सभाले आर्थिक बर्ष २०७८। २०७९ को  खुद नाफाबाट संरक्षित पुजी फिर्ता कोषका लागि २ करोड २ लाख रुपैया स्वीकृत गर्दै सदस्यहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो । 

साधारण सभाले रकम छुट्याएपछि सदस्यहरुले  कारोवारका आधारमा अब पुजी फिर्ता पाउने नवजीवनका महाप्रवन्धक डम्बर गुरुले बताए ।   साधारण सभाले  रकम छुट्याइसक्यो । महाप्रवन्धक डम्बर गुरुले भने  अब सदस्यहरुले संस्थामा गरेको निक्षेप संकलन र कर्जा लिएका आधारमा यसबाट पाइदा पाउनु हुन्छ ।

 संरक्षित पुजी फिर्ता कोषमा छुट्याइएको रकमको ६० प्रतिशत कर्जा लिएर असल ऋणी बनेकाहरुलाई  प्रदान गरिनेछ भने ४० प्रतिशत निक्षेपकर्ताहरुलाई प्रदान गरिनेछ ।  यसरी प्रदान गर्ने आधारमा बचतकर्ताहरुले प्राप्त गरेको व्याज र ऋणीहरुले प्रदान गरेको ब्याजलाई आधार मानिनेछ । 

  नवजीवनले गत आर्थिक बर्ष २०७८। २०७९ मा गरेको खुद नाफा १० करोड ७९ लाखबाट  २५ प्रतिशत रकम जगेडा कोषमा छुट्याएर बचेको रकमको २५ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषमा छुट्याइएको हो ।

सीमित बैंकिङ कारोवारको अनुमति पाउने  नेपालकै  पहिलो सहकारी नवजीवनको स्थापना २०५१ सालमा भएको हो । उक्त सहकारीले पाँच स्थानमा इकाई भेलाहरु गरेर बिहीवार साधारण सभा सम्पन्न गरेको हो । पाँच इकाई भेलाबाट छानिएका ३९ प्रतिनिति, सल्लाहकार समिति र कार्यसमितिको सहभागितामा साधारण सभा सम्पन्न भएकोे हो ।

  साधारण सभाले कन्चनपुरको महेन्द्रनगरमा रहेको सुदुर बचत तथा ऋण सहकारी संस्थालाई आफुमा गाभ्ने निर्णय गरेको छ । सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा महेन्द्रनगरको सहकारीलाई आफुमा गाभ्ने निर्णय गरिएको  नवजीवनका अध्यक्ष देब बहादुर बमले बताए ।

साधारण सभाले  नवजीवनको ब्राण्डमा चामल बजारमा ल्याउन बजेट बिनियोजन गरेको छ ।  कैलाली जिल्लाको गोदावरी नगरपालिकाको मजगाउमा रहेको  जग्गा र गोदामको उपयोग गर्दै नवजीवनकै ब्राण्डमा  चामल बजारमा ल्याउनका लागि काम अघि बढाउन सभाले  २ करोड रुपैया बिनियोजन गरेको छ ।

मजगाउमा नवजीनले आठ बर्ष अघि किनेको जग्गामा नवजीवनको ६० लाख र रिज्मको ४० लाखको लगानीमा गोदाम निर्माण भैसकेको छ ।

 किसानको उत्पादनलाई खरिद गरेर गुणस्तरिय चामल सस्तो मुल्यमा उपलवध गराउन  साधारण सभाले  उत्पादनको काम अघि बढाउने निर्णय गरेको  अध्यक्ष बमले बताए ।

सभाले गोदावरी नगरपालिकाको अत्तरियामा शाखाका लागि आफ्नै भवन बनाउन ३ करोड ५० लाख र बर्दियाको बासगडीमा घर निर्माणका लागि जग्गा खरिद गर्न  ३ करोड रुपैया बिनियोजन गर्ने निर्णय समेत गरेको छ ।

गत असारसम्म ३० हजार ४ शय ४२ शेयर सदस्य रहेको नवजीवन सहकारीको अधिकृत शेयर पुजी ५० करोड रहेकोमा चुक्ता शेयर पुजी २६ करोड ९५ लाख ६८ हजार रहेको छ ।