धनगढी पोष्ट
शनिबार, १६ पुष २०७९ मा प्रकाशित
राष्ट्रिय सहकारी बैंकको नयाँ कार्यसमितिका निर्विरोध हुन नसकेका पदका लागि शनिबार अनलाईनबाट मतदान भएको छ । काठमाण्डौ सहित सबै प्रदेशमा राखिएका एक एक मतदान स्थलबाट अनलाइन मतदान गरिएको हो ।
प्रविधिमैत्री कारोवार बढाउदै गएको सहकारी बैंकले प्रविधिको उच्चतम प्रयोगका क्रममा अनलाइन मतदान गरेको सहकारी बैंकको धनगढी शाखाका प्रवन्धक कृष्ण रावलले बताए ।
धनगढीमा भएको मतदानमा २ शय ८४ जनाले मतदान गरेका छन् । सुदुरपश्चिममा ५ शय २ सदस्य रहेका छन् ।
सहकाी बैंकको अध्यक्षमा के बी उप्रेती सहित अधिकांश पदमा निर्विरोध भैसकेको छ । निर्विरोध हुन नसकेका छ पदमा अनलाइन मतदान भएको हो ।
सहकारी बैंकको लेखा समितिको सदस्यमा महेन्द्रनगरको उदयदेव सहकारीका कार्यकारी निर्देशक गणेश बहादुर चन्द प्रतिस्पर्धा गरिरहेका छन् ।
मतदान अघि अनलाइन मार्फत नै साधारण सभा भएको थियो । साधारण सभामा धनगढीमा उठेका जिज्ञासाहरुको सहकारी बैंकका सञ्चालक शिवा थापाले जवाफ दिएकी थिइन् । कार्यक्रम सँचालन सहकारी बैंकको बिभागीय प्रमुख बिद्या राइले गरेकी थिइन् ।
धनगढीमा बिनोद पन्तको नेतृत्वको टीमले निर्वाचन गराएको हो ।
उत्कृष्ठ सहकारीहरु सम्मानित
धनगढी । उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेड देशभरिका सहकारीहरुमा उत्कृष्ट घोषित भएको छ । राष्टिय सहकारी बैंक लिमिटेडले आफ्नो १९ औ साधारण सभाका अवसरमा शनिबार सहकारी बैंकहरुसँग कारोवार गर्ने देशभरिका सहकारीहरु मध्य कन्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेवलाई उत्कृष्ट सहकारी घोषणा गरेको हो ।
बर्षभरि गरेको बचत ऋण र अन्य कारोवारका आधारमा उदयदेव उत्कृष्ट घोषणा गरिएको सहकारी बैंकलेल जनाएको छ ।
सहकारी बैंकले सुदुरपश्चिम प्रदेशस्तरमा कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउदेश्यीय सहकारी संस्थालाई उत्कृष्ट घोषणा गरेको छ । बचत तथा ऋण सहकारीहरु मध्य प्रदेशस्तरमा युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरलाई उत्कृष्ठ घोषणा गरेको छ ।
त्यस्तै, सहकारी बैंकको धनगढी शाखा अन्तर्गतका सहकारीहरुमध्य सृजनशील महिला बिकास बहुउदेश्यीय सहकारी जमुनानगर उत्कृष्ठ घोषणा भएको छ । नियमित कारोवारका आधारमा शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडलाई सम्मानित गरेको छ ।
बैंकको महेन्द्रनगर शाखा अन्तर्गत मेगा बचत तथा ऋण सहकारी संस्था उत्कृष्ठ घोषित भएको छ । नियमित कारोवार तर्फ भने निङलासैनी बहुउदेश्यीय सहकारी उत्कृष्ट घोषित भएको छ ।