धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
सुदुरपश्चिम प्रदेश सभा बैठक

प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पारित

मुलुक लकडाउनमा गएपछि हिउँदै अधिबेशन बीचैमा समाप्त भएपछि हिउँदे अधिबेशनमा पेश भएको विधेयक बजेट अधिबेशनमा पारित भएको हो ।

प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पारित

धनगढी

  सुदूरपश्चिम प्रदेश सभाबाट सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ आइतबार पारित भएको छ । विधेयक सर्वसम्मतिले पारित भएको हो ।

  हिउँदे अधिबेशनमा नै प्रदेश सभामा पेश भएको विधेयक बजेट अधिबेशनमा पारित भएको हो । कोरोना भाइरसको संक्रमणसंगै मुलुक लकडाउनमा गएपछि हिउँदै अधिबेशन बीचैमा समाप्त भएपछि हिउँदे अधिबेशनमा पेश भएका विधेयकहरुमाथि बजेट अधिबेशनमा छलफल हुँदैछ ।

  विधेयक पारित हुनु अघि सामाजिक विकास समितिमा दफावार छलफल भएको हो । सामाजिक विकास समितिले विधेयकमा सामान्य हेरफेर गर्दै संशोधन सहित प्रतिवेदन प्रस्तुत गरेको थियो । समितिले गरेका संशोधन समेत विधेयकको अंग बनाई प्रदेश सभाबाट पारित भएको हो ।

  विधेयक पारित हुनुअघि त्यसमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बजेट बनाउने बेला भएकोले विधेयक पारित भएसंगै बजेटमा ब्यवस्था गरेर चाँडै प्रज्ञा प्रतिष्ठान गठन गर्ने तर्फ सरकारले ध्यान पु¥याएको बताए ।

  विधेयक माथि सामाजिक विकास समितिले दिएको प्रतिवेदन माथिको छलफलमा नेकपामा प्रदेश सभा सदस्य मान बहादुर धामीले प्रदेशको भाषा र संस्कृतिको विकास र उत्थानका लागि आवश्यक रहेको प्रतिष्ठान गठन गर्न विधेयक पारित भएसंगै सरकारलाई सहज हुने बताए ।

  नेपाली कांग्रेसका प्रदेश सभा सदस्य श्यामलाल राना थारुले प्रदेशमा बिभिन्न थरीका  भाषा र संस्कृतिहरु रहेको र तिनको संरक्षण र सम्बद्र्धनका लागि विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिए ।

  राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्य कृष्ण बहादुर चौधरीले सबै प्रकारका भाषा र संस्कृतिको संरक्षणका लागि विधेयक पारित भएपछि सरकारले काम गर्नुपर्ने बताए ।