धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

रासायनिक मलको माग सहित काँग्रेसको मुख्यमन्त्रीलाई १५ बुदे ज्ञापन पत्र

रासायनिक मलको माग सहित काँग्रेसको मुख्यमन्त्रीलाई १५ बुदे ज्ञापन पत्र

धनगढी     

नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर १ क्षेत्रिय कार्य समितिले किसानलाई आवश्यकता अनुसारको रासायनिक मल उपलब्ध गराउनु पर्ने मुख्य माग सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई १५ बुदे ज्ञापन पत्र बुझाएको छ ।

       बर्षे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव भएकाले तत्कालै आवश्यकता अनुसारको रासायनिक मल आयात गरिनुपर्ने, मलखाद बोकेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिने गरेको भन्दै त्यस्ता कार्य बन्द गरिनुपर्ने माग काँग्रेसले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

  साथै नेपाल सरकारले अख्तियारी दिएर निर्माण कार्य अघि बढेको कंचनपुरको कलुवापुर बेलौरी सडक खण्डमा सरकारमै रहेको पार्टी नेकपाले अबरोध पु¥याएको भन्दै सो सडकमा देखिएको विवाद समाधान गरी काम सुचारु गर्ने वातावरण तयार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर१ का सभापति गोपि प्रसाद उपाध्याय नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको  हो ।

ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य दिवान सिंह विष्टले रासायनिक मलखादमा विचौलिया हावी हुँदा किसानले महंगोमा मलखाद किन्नु परेको बताए । उनले सरकारी अनुदान प्राप्त रासायनिक मलखाद सहजरुपमा किसानले पाउने व्यवस्था गर्न मुख्यमन्त्री भट्टलाई आग्रह गरे ।

 यसै गरी बेलौरी क्षेत्रमा निर्माणाधिन हुलाकी सडकमा भारतीय पक्षले अवरोध पु¥याएको घटना स्मरण गराउँदै उनले सो समस्या तत्कालै समाधान गरी समयमै सडकको काम अगाडी बढाउन तर्फ ध्यान दिन पनि मुख्यमन्त्रीलाई आग्रह गरे ।

 ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको पहलमा यसपटक गत बर्षको भन्दा बढी मल आयात भएको बताए । उनले किसानलाई मलको समस्या हुन नदिन केन्द्र सरकार संग थप मल माग गरिएको बताए । उनले ज्ञापन पत्रमा उल्लेख भएका बुदा सवै प्रदेश सरकारले कार्यान्वयन गर्न नसक्ने भन्दै केही बुदामा संघिय सरकार संग समन्वय गर्ने आश्वासन दिए ।