धनगढी पोष्ट
बिहिबार, २५ असार २०७७ मा प्रकाशित
धनगढी,
सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि व्यवसायीले भने तत्काल सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्था नभएको बताएका छन् ।
सरकाराले निर्णय गरे पनि व्यवसायी विच छलफल हुन बाँकी रहेको भन्दै यातायात व्यवसायी संघहरुले तत्कालै यातायात सञ्चालन गर्ने सोच नबनाएको प्रतिक्रिया दिएका हुन् ।
मालिका यातायात प्रालिका अध्यक्ष डिबि खलौलाले हालसम्मको क्षतिपुर्ति कसरी व्यहोर्ने, बैंङ्क तथा वित्तिय संस्थाबाट लिएको ऋण कसरी तिर्ने र सरकारले व्यवसायीलाई कसरी समेट्छ भन्ने बारेमा कुनै जानकारी नभएका कारण तत्काल सवारी सञ्चालन नगरिने बताए ।
उनले यातायात व्यवसायी महासंघको आधिकारिक धारणाका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताए । तर तत्कालका लागि भने महासंघबाट समेत कुनै सूचना नआएको उनले बताए ।
सरकारले भोलि (शुक्रवार ) देखि बस तथा ट्याक्सी चलाउन सक्ने निर्णय गरेको छ । सार्वजनिक यातायात चलाउँदा सीटको ५० प्रतिशत यात्रु मात्र राख्नु पर्ने, ५० प्रतिशत बढी भाडा लिन पाउने र सबैले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेका छ । काठमाण्डौ उपत्यकामा तीन जिल्लाभित्र र उपत्यका बाहिर जिल्लाभित्र चलाउनु पर्नेछ ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले पनि यातायात व्यवसायी महासंघको आधिकारिक घारणका आधारमा यातायात सञ्चालन गरिने बताए ।
‘हामी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आधिकारिक निर्णयलाई पर्खेका छौं’ अध्यक्ष साप्कोटाले भने–‘महाँसंघको आधिकारिक धारण नआएर तत्कालका लागि छोटो दुरीमा पनि यातायात सञ्चालन गर्न सक्दैनौं ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सरकारले व्यवसायी संग छलफल नै नगरी एकलौटी निर्णय गरेको भन्दै सो निर्णय नमान्ने जनाएको छ ।