पोखरामा जन्मोत्सव चलिरहेको घरमा पहिरो खस्दा तीन जनाको मृत्यु

कास्की

   अविरल वर्षाका कारण गएको पहिरोमा परी बिहीबार राति पोखरामा तिन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

      राति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका१८ सराङकोट गोठादी स्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

 सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

  थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।