धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

आज देशभर धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ

    देशभर मौसम बदली भइ धेरै स्थानमा पानी परेको छ र आइतबार दिनभर पनि मौसम बदली भइ धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 देशका धेरै नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।