धनगढी पोष्ट
आइतबार, २८ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा झण्डै १३ सय कोरोना संक्रमित घर फर्केका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा शनिवार सम्म संक्रमण पुष्टि भएका ३ हजार ७ सय ५८ जना मध्य १२ सय ६७ जना डिष्चार्ज भएर घर फर्केका छन् । हाल सम्म सुदूरपश्चिममा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिममा वाँकी रहेका २४ सय ८३ जना संक्रमित मध्य मात्र ८१ जना प्रदेशका बिभिन्न अस्पतालका आईसोलेशनमा रहेका छन् । बाँकी सबै संक्रमितहरु होम केही होम क्वारेन्टाईन र केही स्थानीय तहले संचालन गरेका आईसोलेसनमा रहेका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिं कार्कीले जानकारी दिए ।
मन्त्रालयले जारी गरेको प्रेश नोट अनुसार सबै भन्दा बढी कोरोना संक्रमित कैलालीको टीकापुर अस्पतालको आईसोलेशनमा रहेका छन् । टीकापुर अस्पतालमा ३९ जना संक्रमित उपचाररत छन् ।
यसैगरी सेती प्रादेशीक अस्पतालमा ७ जना, महाकाली अस्पतालमा १८ जना, जिल्ला अस्पताल अछाममा १० जना, डोटीमा २ जना , बाजुरामा २ जना र कैलालीको मालाखेती अस्पतालमा ३ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । उनले सबै संक्रमितको अबस्था सामान्य रहेको बताए ।
प्रदेशमा अहिले सम्म जम्मा २६ हजार ९ सय ९१ जनाको थ्रोट स्वाव नमुना संकलन भएकोमा शनिवार सम्म २६ हजार ८० को पिसीआर बिधिवाट परिक्षण भई नतिजा आईसकेको छ । मन्त्रालयका अनुसार अब ९ सय ११ थ्रोट स्वावको मात्र नतिजा आउन वाँकी रहेको छ । यस्तै प्रदेशमा एक लाख १७ हजार सात सय ३८ जनाको आरडिटी परीक्षण गरिएको जनाईएको छ ।