धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नवजीवन सहकारीद्धारा २६६ सदस्यलाई ४२ लाख सहयोग

यो कोषलाई अझै बढाएर सुविधामा थप बृद्धि गर्ने योजना छ : अध्यक्ष बम

नवजीवन सहकारीद्धारा २६६ सदस्यलाई ४२ लाख सहयोग

धनगढी ।  नवजीवन सहकारी संस्थाले एक बर्षमा २ शय ६६ शेयर सदस्यलाई ४२ लाख ८१ हजार सहयोग गरेको छ । सहकारीले शेयर सदस्य हितकोषबाट  सदस्यहरुलाई आर्थिक बर्ष २०७९।२०८० मा  औषधी उपचार, सुत्केरी खर्च र काजकिरिया खर्च बापत उक्त रकम सहयोग गरेको हो ।

नवजीवनले सबै भन्दा बढी १ शय ७ जना सदस्यलाई औषधी उपचार बापत २१ लाख ६६ हजार रुपैया सहयोग गरेको छ ।  शेयर सदस्य बिरामी भएमा सहकारीले दश हजारदेखि ३५ हजारसम्म र अंग प्रत्यारोपण गर्नु परेमा एक लाख सहयोग दिने गरेको छ ।

सदस्यहरुको लगानी र कारोवारका आधारमा नै  सहकारी संचालन हुने र मुनाफा पनि कमाउने भएकोले मुनाफाबाट सदस्यहरुलाई लाभान्वित बनाउन हितकोष मार्फत सहयोग गर्ने गरिएको नवजीवन सहकारीका  अध्यक्ष देब बहादुर बमले बताए । “सहकारी सदस्यहरुबाट नै संचालन हुने भएकोले यसको नाफाबाट सदस्यहरुले पनि सुविधा पाउनु पर्छ भनेर सदस्यहरुलाई जन्मदेखि मृत्युसम्म सुविधा दिइरहेका छौं ।  अध्यक्ष बमले भने “यो कोषलाई अझै बढाएर सुविधामा थप बृद्धि गर्ने योजना छ । 

नवजीवन सहकारीबाट एक आर्थिक बर्षको अवधिमा  ७१  शेयर सदस्य  महिलाले सुत्केरी खर्च बापत ३ लाख ५५ हजार र ८८ शेयर सदस्यको मृत्युमा तिनका परिवारका सदस्यले १७ लाख ६० हजार रुपैया काजकिरिया खर्च पाएका छन् । शेयर सदस्य महिलाले बच्चा पाएमा  ५ हजारका दरले बढीमा दुई पटक सुत्केरी खर्च र शेयर सदस्यको मृत्यु भएमा सदस्यका परिवारले काजकिरिया खर्च बापत २० हजार पाउने गर्दछन् ।

नवजीवन सहकारीका संचालक समितिका सदस्य गोपाल पाठक सदस्यहरुलाई सहकारीप्रति अपनत्व बृद्धि गर्न शेयर सदस्य हितकोषबाट सदस्यहरुलाई अप्ठेरो परेको बेलामा सहयोग गर्ने गरिएको बताउँछन् ।   “सहकारीबाट अप्ठेरो बेलामा सहयोग पाउँदा अपनत्व बढ्छ ।  पाठक भन्छन् “यसले सहकारीप्रति बिश्वास बढ्ने र सदस्यको सक्रियता पनि बढ्ने हुन्छ । 

नवजीवनका अध्यक्ष बम  सहकारीमा बचत र ऋणको कारोवार गरेका शेयर सदस्यहरुलाई  संरक्षित पुँजी फिर्ता कोषबाट मुनाफाको अंश दिने गरिएको र कारोवार नगरेकाहरुले पनि हितकोषबाट फाइदा पाइरहेको बताउँछन् ।

सदस्यहरुको  हितका लागि हितकोषको रकम अझै बढाउने  योजना रहेको अध्यक्ष बम बताउँछन् ।  नवजीवनले  मुनाफाको ५ प्रतिशत रकम हितकोषमा छुट्याउने गरेको छ ।  सहकारीको साधारण सभाको बेलामा सदस्यहरुलाई प्रदान गरिने यातायात खर्च बापतको ७ शय ५० रुपैयाबाट ५० रुपैया शेयर सदस्य हितकोषमा जम्मा गरेको थियो ।