धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
कोरोना कहर

बजार खुल्यो, नियम पालना भएन

बजार खुल्यो, नियम पालना भएन

धनगढी

  कोरोना भाइरसबाट समुदायमा संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन खुकुलो भएसंगै धनगढीका बजार व्यवसाय सञ्चालन भएपनि संक्रमणबाट बच्न सरकारले जारी गरेका नियमको भने पालना भएको देखिदैन ।

       गृहमन्त्रालयले जारी गरेको मापदण्ड पालना नहुदा र नागरिकले लापर्वाही गर्ने परिपार्टीका कारण बजारमा सावधानीका उपायहरु प्रयोग हुन छाडेका छन् ।

    गृह मन्त्रालयले जारी गरेका केही एजेण्डालाई जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरीेले कार्यान्वयन गर्नुपर्ने हो । तर प्रहरीले बजारमा मास्क विना हिड्ने नागरिक, पसलमा हुने भिडभाड, र होटेल निर्वाध सञ्चालन हुँदा प्रहरी प्रशासन भने मौन छ । जिल्ला प्रशासन कार्यालय कैलालीले भने आमरुपमा गृहका निर्देशनलाई पालना गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ । यसका साथै आम नागरिकले पनि नियमको पालना गर्नु उनिहरुको दायित्व हुने प्रशासनको भनाई छ । 

     तर धनगढी तथा आसपासका क्षेत्रमा भने नत नागरिकले मापदण्डको पालना गरेका छन्, नत जिल्ला प्रशासन मातहतका निकायले नै त्यसको पालना गर्न लगाएका छन् । लकडाउन खुकुलो भएपछि गृह मन्त्रालयले कम्तिमा दुई मिटरको दुरीमा काम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, व्यवसाय सञ्चालन गर्दा सेनिटाइजरको अनिवार्य प्रयोग हुनुपर्ने, भिडभाड हुने स्थलहरु पूर्ण रुपमा बन्द गरिनुपर्ने जस्ता प्रावधान अघि सार्दै सो को पालना गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।  

       कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने गृहको निर्देशन अनिवार्य कार्यान्वय गर्न प्रहरीलाई निर्देशन दिएको बताए । भौतिक दुरी कायम नगर्ने र मास्क नलगाउने जो कोहीलाई प्रहरीले कारवाही गर्दै आएको छ प्रजिअ बोहराले भने–‘सवै स्थानमा प्रहरी पुग्न सक्दैन, नियमको पालना गरी आफ्नो सुरक्षा आफैले गर्नुपर्ने  हुन्छ ।