धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
रुकुम पश्चिम घटनाको विरोधमा धनगढीमा अनिश्चितकालीन धर्ना

दलहरुद्धारा ऐक्यवद्धता व्यक्त

रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले धनगढीमा गर्दै आएको अनिश्चितकालीन धर्नामा राजनैतिक दलहरुले ऐक्यवद्धता जनाएका छन् ।

दलहरुद्धारा ऐक्यवद्धता व्यक्त

धनगढी

   रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले धनगढीमा गर्दै आएको अनिश्चितकालीन धर्नामा राजनैतिक दलहरुले  ऐक्यवद्धता जनाएका छन् ।  धनगढीको पार्कमोडमा अनिश्चितकालीन धर्ना  शुरु भएको आज छैठौं दिन दलहरुले ऐक्यवद्धता जनाएका छन् ।

   धर्नामा ऐक्यबद्धता जनाँउदै  सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री एव साँसद दीर्घ सोडारीले मानव सभ्यता माथि नै प्रश्न उठ्ने गरी भएको रुकुम पश्चिमको घटना निन्दनीय भएको बताए । उनले सो घटनाको विरोधमा हुने आन्दोलनमा आफ्नो समर्थन रहेको बताए ।

  नेपाली कांग्रेस कैलालीका उप सभापति प्रकाश बहादुर बमले घटनामा संलग्नहरुको खोजी गरी कारवाही गर्न माग गरे । उनले छुवाछुत र जातिय विभेद मुक्त राष्ट्रमा एक समुदायले जातकै आधारमा अर्को समुदाय माथि गर्ने विभेद सह्य नहुने आफ्नो र आफ्नो पार्टीको धारणा रहेको बताए ।

  नेकपाका नेता तथा पुर्व संघीय साँसद हरि श्रीपाइलीले समतामुलक समाजका लागि संघर्ष गरेको भनिएकाहरुबाटै रुकुम पश्चिममा घटना भएकोले सो घटनामा संलग्नहरु माथि हदैसम्मको कारवाही गर्न माग गरे । जातीय विभेदका घटनामा कानून अनुसार कारवाही भए मात्रै यस्ता घटना नदोहिरिने उनको विश्वास छ ।

  नेपाल दलित संघका नेता नृप सुनारले राज्य संयन्त्र नै रुकुम पश्चिम घटनाका दोषीहरुलाई बचाउन लागि परेको आरोप लगाए ।

   जातिय उत्पीडित मुक्ति समाज कैलालीका अध्यक्ष चक्र बिकेले रुकुम पश्चिमको घटनाका दोषीहरु माथि कानूनी कारवाही नहुँदा आन्दोलन जारी राख्नुपर्ने बताए ।  

    रुकुम पश्चिम सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न माथि कानूनी कारवाही, मृतकहरुलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारका सदस्यहरुलाई क्षतिपिुर्तिको माग राखेर संयुक्त दलित संघर्ष समिति सुदुरपश्चिम समिति धनगढीले जेठ २०  गतेदेखि धनगढीमा अनिश्चितकालीन धर्ना गर्दै आएको छ  ।