धनगढी पोष्ट
सोमबार, २९ असार २०७७ मा प्रकाशित
धनगढी
कर्तब्य ज्यान मुद्धाका दोषीलाई निलम्बन नगरी तलब खुवाई भ्रष्टाचार गरेको भन्दै बैतडीका दुई विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष तथा तलब लिने शिक्षकहरु र स्थानीय स्रोत ब्यक्तिबिरुद्ध अख्तियार खुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भएका जिल्लाको जसलिङ्ग प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय ब्यवस्थापन समितिका अधयक्ष देवराज कपाडी र स्रोत ब्यक्ति हरि नाथ बिरुद्ध आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको हो ।
कर्तब्य ज्यान मुद्धाका अर्का दोषी बटैराज प्राथमिक विद्यालयका शिक्षक रतन सिंह भण्डारीलाई पनि निलम्बन नगरी नै तलब खुवाएको भन्दै तलब लिने भण्डारी र लिन सहयोग गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारी बिरुद्ध पनि मुद्धा दायर गरिएको छ ।
कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भएपछि शिक्षक कपाडीले ८१ हजार ९ सय र भण्डारीले ८३ हजार १ सय रुपैया तलब बुझेको अनुसन्धानबाट खुलेकोले शिक्षकहरु र उनीहरुलाई तलब खान सहयोग गर्ने स्रोत ब्यक्ति र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु विरुद्ध आरोप पत्र तयार गरी विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोय अनुसनधान आयोगका पवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।