धनगढी पोष्ट 
                                बिहिबार, ०१ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                         धनगढी
    सरकारले रुखहरुको कटानी रोक्न दिएको निर्देशन छल्दै वैज्ञानिक वन नीति अवलबन गरेका कैलालीका ३५ वटा सामुदायिक वनमा ठेक्का भएका १७ हजार ७ सय ५६ रुखहरु एकै दिनमा काटिएका छन् ।
   रुख कटानी रोक्न निर्देशन आएको अग्रिम जानकारी डिभिजन बन कार्यालयले नै दिएर चाडो काट्न भनेपछि ३५ वटै सामुदायिक बनमा ठेक्का पाएका सबै ठेकेदारहरुले असार १५ गते एकै दिनमा रुखरु काटेर सकेका हुन् ।  
   डिभिजन बन कार्यालय कैलालीले जेठ १४ गते रुखहरु कटानी आदेश स्वीकृत गरेको थियो ।  स्वीकृति  दिएको भोलिपल्ट असार १५ गते नेपाल सरकारको रुखहरु कटानी रोक्ने निर्णय कार्यान्वयन गर्न बन बिभागले डिभिजन बन कार्यालयहरुलाई निर्देशन दिएको थियो । कटानी रोक्न आएको निर्देशनको कार्यान्वयन तत्काल नगरेर डिभिजन बन कार्यालयकै सल्लाहमा सबै ठेकेदारहरुले एक दिनमा सबै रुखहरु काटेका हुन् । 
   ३५ वटा सामुदायिक बनबाट रुख कटानी गरेर ४ लाख २४ हजार ७५ दशमलव ९७ क्यूफिट काठ र ५ सय ८२ चठ्ठा दाउरा उत्पादन गरिएको छ । 
  श्रोतका अनुसार डिभिजन वन कार्यालय कैलालीलाई जेठ १५ गते नै सवै वनका रुख कटानी तथा ढुवानी बन्द गर्न सरकारले गरेको निर्णय प्राप्त भएको थियो । सो पत्र इमेलमा आएको हुँदा इमेल नखोलेको बहाना बनाएर डिभिजन वन कार्यालयले नै ठेकेदारलाई छिटो रुख काट्न सुचना दिएको थियो । डिभिजनकै छिटो काट्न ताकेतापछि नै ठेकेदारले दिन रात लागेर रुखहरु काटेका हुन् ।
   तर डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेल बिभागको रुख कटानी रोक्न निर्देशन जेठ १७ गते मात्र आएको तर सामाजिक सञ्जालबाट जानकारी पाएका आधारमा आफुले असार १६ गते नै रुख कटानी रोक्न निर्देशन दिएको दावी गर्छन् । 
  उनले रुख कटानमा मेसिनको प्रयोग गरिने भएका कारण कटान आदेश पाएका ठेकेदारले दुई दिनमा रुख कटान गरेको हुन सक्ने बताउँछन् । ‘सरकारले रुख कठान बन्द गर्ने निर्णय १५ गते गरेको थियो’ डिभिजन प्रमुख कडेलले भने–‘तर हामीलाई १७ गते पत्र आएको हो ।’ 
  डिभिजन वन कार्यालय कैलालीका अनुसार जेठ १४ गते वैज्ञानीक वन नीति अवलम्ब गरेका वनका ३५ सामुदायिक तथा साझेदारी वनलाई १७ हजार ७ सय ५६ रुख कटान गरी ४ लाख २४ हजार ७५ दशमलव ९७ क्यूफिट काठ र ५ सय ८२ चठ्ठा दाउरा उत्पादन गर्न स्वीकृति दिएको थियो । 
  यसैगरी भारताल साझेदारी वनलाई ढलापडा तथा हाँगा गरी ४ हजार ४ सय तीन रुख कटान गरी ९१ हजार ५ सय ८६ दशमलव १५ क्यूफिट काठ र २ सय २४ चठ्ठा दाउरा उत्पादन गर्न स्वीकृति दिएको थियो । भारताल साझेदारी वनका रुखको मुल्याङ्कन गर्न बाँकी रहेका कारण खडा रुख कटान गर्ने अनुमति भने नरहेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख कडेलले बताए ।
  बैज्ञानिक बन व्यवस्थापन नीति लागु गरिएका सामुदायिक बनहरुमा रुख कटानीमा गलत काम भैरहेको उजुरीका आधारमा केही दिन अघि मात्र संघीय संसदका दुई समितिका टोलीले बैज्ञानिक बनमा भएको रुख कटानीकको अध्ययन गरेर गएका थिए ।