धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सवारी साधनमा लोगो लगाएर दुध पद्धार्थको ढुवानी गर्न आग्रह

सवारी साधनमा लोगो लगाएर दुध पद्धार्थको ढुवानी गर्न आग्रह

धनगढी । सरकारले व्यवस्था गरेको प्रतिक चिन्ह (लोगो) प्रयोग गरेर मात्र दुध र दुग्ध पद्धार्थको ढुवानी गर्ने सवारी साधन चलाउनु पर्नेमा जोड दिइएको छ ।  सरकारले दुग्ध पद्धार्थको ढुवानी गर्ने सवारी साधनलाई अत्यावक सेवाको रुपमा मान्यता दिएकोले लोगोको प्रयोग गरेर मात्र सवारी साधन चलाउनु पर्ने मंगलबार धनगढीमा आयोजित कार्यक्रममा सहभागीहरुले जोड दिएका हुन् ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुध र दुग्धजन्य पदार्थको ढुवानीका साधनमा प्रतिक चिन्ह लगाउन व्यवसायीहरु अग्रसर हुनु पर्ने बताए । ‘दुुध र दुग्धजन्य पद्धार्थ ढुवानीका साधनलाई अत्यावश्यक सेवा रुपमा सरकारले मान्यता दिएको छ ।’ राष्टिय दुग्ध बिकास बोर्डले दुध तथा दुग्ध पद्धार्थको ढुवानी गर्न सवारी साधनमा प्रयोग हुने  प्रतिक चिन्ह (लोगो) को प्रचार प्रसारका लागि मंगलबार  धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले भने ‘अत्यावश्यक सेवाको सुविधा उपयोग गर्न  सवारी साधनमा लोगो प्रयोग भएको हुनु पर्छ ।’ 

दुध र दुग्ध पद्धार्थको उपभोग बढाउन सबै व्यवसायीले दुध र दुग्ध पद्धार्थका फाइदाबारे प्रचार गर्नु पर्ने अध्यक्ष दाहालले बताए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनगढीका प्रमुख हेमराज अवस्थीले प्रतिक चिन्हको प्रयोग गरेर दुध र दुग्धजन्य पद्धार्थ ढुवानी गर्दा एम्बुलेन्स सरहको मान्यता पाउने व्यवस्था रहेको बताए ।

प्रमुख  अवस्थीले दुध र दुधजन्य पद्धार्थको ढुवानी दुधको गुणस्तर नबिग्रिने बस्तुमा राखेर  गर्नु पर्ने बताए ।  ‘अहिले प्लाष्टिकका साधन र कम गुणस्तरका साधनमा राखेर दुध ढुवानी भैरहेको देखिन्छ ।’ अवस्थीले भने ‘व्यवसायीहरुले दुधको गुणस्तर नबिग्रिने गरि गर्नु पर्छ ।’

केन्द्रिय दुग्ध सहकारी महासँघका महासचिव राजन आचार्यले सरकार जिम्मेवार नबनेकोले दुग्ध उत्पादक किसानहरुले दुध बिक्रीको रुपैया पाउन नसकिरहेको बताए ।  ‘अब आन्दोलनको बिकल्प छैन ।’ महासचिव आचार्यले भने  ‘अब चाडै आन्दोलनको घोषणा गर्छौ । आन्दोलन नगरेर सरकार सुन्नेवाला छैन ।’

नेपाल डेरी एशोसिएसनका सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले सुदुरपश्चिममा किसानहरुले उत्पादन गरेको दुधले बजार पाउन नसकिरहेको बताए । सुदुरपश्चिममा अहिले एक लाख लिटर दुध बजारमा गइरहेको र साढे दुई लाख दुध गाउँमै रहेको अध्यक्ष थापाले बताए ।

सुदुरपश्चिममा अहिले दुध उत्पादन बढे पनि घासमा आधारित पशुपालन रहेकोले दुधको मुल्य कम रहेको अध्यक्ष थापाले बताए ।

दुग्ध बिकास कोर्डका प्रशासन प्रमुख बिदुर राईले  दुध अत्यावश्यक वस्तु भएकोले सरकारले विना अवरोध जुनसुकै समय र ठाउमा ढुवानी गर्न सहज होस् भनेर दुध ढुवानीका साधनमा लोगोको व्यवस्था गरेको बताए ।

लोगो प्रयोगका अनुमति लिनु पर्ने, हरेक बर्ष नवीकरण गर्नु पर्ने र लोगो प्रयोग भएको सवारी साधन अरु काममा प्रयोग गर्न नपाइने राइले बताए ।

जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दिपक मल्लले  लोगो प्रयोग भएका दुध र दुधजन्य पद्धार्थको ढुवानी गर्ने सवारी साधनहरुको सहज आवागमनको लागि आफुले सहजीकरण गर्ने बताए ।  प्रहरी निरीक्षक मल्लले  लोगो प्रयोग भएका सवारी साधनहरुमा अरु सामानको ढुवानी नगर्न आग्रह गरे ।

कार्यक्रममा कैलाली र कन्चनपुरका दुग्ध व्यवसायी, किसान र सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।