धनगढी पोष्ट
मङ्गलबार, १८ असार २०८१ मा प्रकाशित
सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नरहा गाउँपालिका-३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल मण्डल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डल छन् । उनीहरू सोमबार दिउँसो १२ बजेबाट हराइरहेका थिए ।
त्यसपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा उनीहरू मंगलबार बिहान साढे ८ बजे बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा मृत भेटिएका हुन् ।
घटना मुचुल्का गरी शव पोष्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।
स्थानीयका अनुसार यो पोखरी ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडिदिएका थिए । यस क्षेत्रमा जथाभावी ग्राभेल उत्खननका कारण जताततै बनेको पोखरीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको छ ।
वर्षायाम सुरु भएसँगै खाल्डा र पोखरीहरूमा पानीको सतह बढेको र यसले मानवीय दुर्घटना निम्त्याउने जोखिम रहेको भन्दै प्रहरीले बालबालिकामाथि विशेष निगरानी राख्न आग्रह गरेको छ ।