धनगढी पोष्ट
शुक्रबार, २१ असार २०८१ मा प्रकाशित
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाशमा गएका छन् ।
१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए ।
तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन ।
जसकारण एआईजी बढुवा डीआईजीबाटै शुक्रबार राति १२ बजेबाट पोखरेल अवकाशमा जाने भएका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ ।
सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल अनिवार्य अवकाशमा गएका हुन् ।