धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

एक सय ६९ किलो गाँजा बरामद

एक सय ६९ किलो गाँजा बरामद

विराटनगर । विराटनगरमा बेवारिसे अवस्थामा १ सय ६९ किलो गाँजा बरामद भएको छ । प्रहरीले बिहीबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१७ गुजार टोलबाट गाँजा बरामद गरिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले राति ११ बजेतिर गाँजा फेला पारेको थियो । खाली जमिनमा त्यत्तिकै छाडिएको अवस्थामा ६ पोका गाँजा फेला परेको बस्नेतले बताए । 

उनका अनुसार बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । गाँजा कसले ल्याएर खाली जग्गामा फालेको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि, यसको ओसारपसार एवं कारोबारमा संलग्नको खोजी भइरहेको जानकारी बस्नेतले दिए । 

उनका अनुसार प्रहरी आएको थाहा पाएका कारण ओसारपसारमा संलग्नहरू नै गाँजा फालेर भागेको हुनसक्ने अनुमान छ । गाँजा नेपालबाट भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ ।