धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

नक्कली शैक्षिक प्रमाणपत्र मुद्धामा सोडारीलाई कैद सजाय

नक्कली शैक्षिक प्रमाणपत्र मुद्धामा सोडारीलाई कैद सजाय

काठमाडौँ । नक्कली शैक्षिक प्रमाापत्र पेश गरि जागी खाएको मुद्धामा कैलालीकी गीता सोडारीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका हुन नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको ठहर गर्दै बिशेष अदालतले बिहीबार ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय पनि सुनाएको छ ।

अदालतले दोषी ठहर गर्दै सजाय सुनाइएकी सोडारी  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय पनि तोकेको छ ।
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारी विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई २०७९ असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर भएको थियो ।

सोडारीले बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ स्थित शिव निम्न माध्यमिक विद्यालयमा राहत शिक्षिकाको रुपमा  काम गर्दा गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन् ।

उनले भारतबाट एउटै तहका दुईवटा माध्यमिक तह उत्तीर्णसरहका (कक्षा १०) प्रमाणपत्र ल्याएको भेटिएको थियो।