धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
कैलालीमा पशु चौपायालाई खोप कार्यक्रम

खोप लगाउने लक्ष्य पुगेन

खोप लगाउने लक्ष्य पुगेन

धनगढी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले जिल्लामा लक्ष्य अनुसार पशु चौपायालाई खोप लगाउन सकेको छैन् ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा लक्ष्य अनुसार पशु चौपायालाई खोप लगाउन नसेकेको हो । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा .हेमराज अवस्थीले भने,‘खोपका लागि मौसम पनि उपयुक्त चाहिन्छ । किसानको समय पनि मिल्नुपर्छ ।

यस कारणले गर्दा खोप लक्ष्यमा पुग्न नसकेको हो ।’ अत्यधिक गर्मी र वर्षोले गर्दा पनि लक्ष्य अनुसार खेप लगाउन नसकिएको उनले बताए । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीको गत आर्थिक वर्ष २०८०÷०८१मा जिल्लाभरी पाँच लाख ५९ हजार पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा तीन लाख ८३ हजार सात सय पशु चौपायालाई मात्र विभिन्न रोगविरुद्धको खोप लगाएको छ ।

पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाईगोरु, बाख्रा, बंगुर, कुखुरालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो । 

गाईगोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप दुई लाख ४१ हजार लक्ष्य रहेकोमा एक लाख ४१ हजार ६ सय मात्र खोप लगाइएको छ ।

भेडाबाख्रालाई पिपिआर खोप एक लाख ७० हजार लक्ष्य रहेकोमा एक लाख ९६ हजार लाई खोप लगाइएको छ । यो खोप लक्ष्य भन्दा बढी लगाइएको छ । 

गाईगोरुलाई लम्पीस्किनविरुद्धको खोप २३ हजार लक्ष्य रहेकोमा १० हजार मात्र खोप लगाइएको हो । 

यस्तै बंगुरलाई क्लासिकल स्वाइन फिवर डोजको २५ हजार लक्ष्य रहेकोमा २१ हजार एक सय लाई मात्र खोप लगाइएको छ ।

स्थानीय जातका कुखुरालाई रानीखेत खोपको एक लाख लक्ष्य रहेकोमा १५ हजार मात्र खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र कैलालीले जनाएको छ । 

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिएको प्रमुख डा.अवस्थीले बताए । 

आर्थिक वर्ष २०७९÷०८० मा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले  जिल्लाका सबै स्थानीय तहमा चार लाख २६ हजार ९१ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको थियो ।