धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

महाकाली भन्सारबाट आयात मात्रै, निर्यात शून्य

महाकाली भन्सारबाट आयात मात्रै, निर्यात शून्य

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत वर्ष निर्यात शून्य झरेको छ।

 कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलनको लक्ष्य उछिनेको भएपनि निर्यात भने शून्य देखिएको हो।

यस नाकाबाट कुनै पनि सामान निकासी  नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा गत वर्ष त्यो पनि नगएको हो। 

आयातबाटै भन्सार कार्यालयले लक्ष्यभन्दा  १७० प्रतिशत बढी राजश्व संकलन गरेको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिए। 

कार्यालयले गत आर्थिक वर्षमा ५१ लाख हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा  ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको  प्रमुख झाले बताए।

लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० रुपैयाँ बढी राजस्व संकलन भएको हो।  भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो।

पैठारीबाट ६३ लाख ७७ हजार २ सय ६४ रुपैयाँ, मूल्य अभिवृद्धि करबाट २१ लाख ७२ हजार ९ सय ५ रुपैयाँ, भन्सार सेवा दस्तुरबाट १ लाख ८० हजार रुपैयाँ र अन्तशुल्कबाट २५ हजार ९ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ।

विगतका वर्षहरूमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्ने महाकाली भन्सार कार्यालय झुलाघाटले गत आर्थिक वर्षमा भने लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो। आर्थिक वर्ष २०७९/८० मा ३८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयाँ मात्रै संकलन भएको थियो। 

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धि लगायतका कारणले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयले जनाएको छ। 

यो नाकाबाट चिनी,कपडा, गुड,भाडाकुँडालगायतका घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ। 

झुलाघाट नाकामा  मोटरेबल पुल नहुँदा व्यापारीहरूले धेरैजसो सामानहरू धनगढी काठमाडौंबाटै ल्याउने गरेका छन्।