धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

‘सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित’

‘सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित’

पुष्कर पौडेल / धनगढी ।  नेपाल भारत सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित बनेका छन् । सीमा क्षेत्रको सुरक्षा गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थापना गरिएको भए पनि बाढीका कारण बिस्थापित हुनु परेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ ‘आई गाउँ’ स्थित सीमामा तैनाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) लल्लिपुर ईन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईले भने, ‘बिओपीमा जाने बाटो समेत छैन । भित्र जाने कल्भर्ट समेत बाढीले बगायो । भवन, प्रतीक्षालय, तीन वटा सेन्ट्री पोष्ट, गेट र जमिन समेत बगायो ।’ अहिले गस्ती गर्न समेत गाह्रो भएको उनले बताए । 

अबिरल वर्षाका कारण असार २३ गते राति मोहन नदीमा आएको बाढीले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) लल्लिपुरमा क्षति गरेपछि विस्थापित भएका थिए ।

बाढीका कारण बिस्थापित भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) अहिले स्थानीय सामुदायिक भवनमा सञ्चालन हुदै आएको छ । 

सीमा सुरक्षा गर्ने उद्देश्यले २०७७ असारदेखि स्थानीय सुर्मादेवी युवा क्लबले बोर्डर आउट पोस्ट (बिओपी) लाई दिएको एक विगा जमिनमा बिओपी स्थापना गरिएको थियो । बाढीका कारण तीन लाखको  नोक्सान भएको छ । 
बोर्डर आउट पोस्ट (बिओपी) लल्लिपुरमा एक करोडको लगानीमा दुई वटा नयाँ भवन लगायत अरु संरचना निर्माण गरिएको थियो । बोर्डर आउट पोस्ट (बिओपी) लल्लिपुरले नेपाल भारतको ७३४÷६ नम्बर पिल्लर देखि ७३८ नम्बर पिल्लरसम्मको रक्षा गर्दै आइरहेको छ । सात किलोमिटर सिमा क्षेत्रको रक्षा गर्दै आएको छ । 

बिओपी लल्लिपुरबाट करिब तीन किलोमिटिर टाढाबाट सीमा क्षेत्रको गस्ती गरिरहेको उनले बताए । ‘हामी आइसकेपछि सीमा क्षेत्रबाट हुने चोरी समेत कम भएको छ । पहिला गाई, भैँसी र घरका साना मोटरहरु चोरी हुथ्यो । अहिले चोरी भएको छैन्,’ लल्लिपुर ईन्चार्ज भट्टराईले भने । 
सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलाली प्रमुख प्रहरी उपरीक्षक (एसपी) दलबहादुर पाण्डेले बिओपी लल्लिपुरलाई अब बाढीबाट बिस्थापित हुन् नदिनका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको बताए ।
 ‘अहिले वर्खा सिर्जन छ । त्यसैमा पनि खोला अहिले ठूलो छ । अहिले तुरुतै अब तारबार लगाएर छेक्बार लगाउन अलि असम्भव जस्तो छ । सानो तीनो केही कोसिस गरेर बाँकी संरचना छन् । त्यसलाई क्षति हुन नदिनको लागि पहल भाको छ,’ प्रमुख प्रहरी उपरीक्षक पाण्डेले भने । 

अब बिओपीमा फर्किन नसक्ने अवस्था रहेमा अन्यत्र उपयुक्त स्थान खोजेर बिओपीलाई स्थातरण गर्न तयारीमा रहेको उनको भनाइ रहेको छ । सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोस्ट (बिओपी) मध्य अन्य ६ वटा बिओपी समेत डुबानको समस्यामा रहेको उनले बताए । 

जिल्लाको एक सय पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा १९ वटा  बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीले जनाएको छ ।

बिओपी सरेपछि स्थानीयलाई चोरको चिन्ता
मोहना नदी किनारमा रहेको नेपाल भारत सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) लल्लिपुर बाढीका कारण अन्यत्र सरेपछि स्थानीय चिन्तित बनेका छन् ।

सीमा क्षेत्रमा हुने दैनिक चोरी, तस्करी लगायतका गतिविधि बिओपी स्थापना भएपछि नियन्त्रणमा आए पनि बिओपी स्थानान्तरण हुँदा स्थानीयहरु चिन्तित बनेका हुन् । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ ‘आईगाउँ’ का स्थानीय कोहीरा चौधरीले भने, ‘बिओपी हुँदा ढुक्क थियो । सीमामा चोरी, तस्करी लगायतका गतिविधि कम थियो । पहिला मेरो एक हल राँगै चोरी भयो । बिओपी बसेपछि चोरी भाको छैन ।’

उनका अनुसार बाढीका कारण बिओपी स¥यो अब फेरी चोरी हुन्छ की भने डर लागेको छ । 

अर्का स्थानीय टेरासिंह कामीले बिओपी हुँदा सबै तिरको सुरक्षा भएको बताए । ‘पारिबाट चोरहरु आउथे । त्यसको लागि पनि सुरक्षा भाथ्यो । अब सशस्त्र उता लागि हाल्यो । अब अलि असुरक्षित छौँ,’उनले भने ।

बिओपी स्थापना भएपछि अहिले सम्म चोरी पनि नभएको उनले बताए । ‘पहिला यहीबाट ११ वटा मोटर उठाएर लगे । मेरो पनि एउटा मोटर चोरी भयो । पारीबाट आउथे,’ उनले भने ।