धनगढी पोष्ट
बुधबार, १६ साउन २०८१ मा प्रकाशित
धनगढी । राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
नेत्रहिन युवा संघ नेपालले धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै अपाङ्गता भएका व्यक्तिको राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकार सम्बन्धि सरोकारवाला पक्षले ध्यान दिनुपर्ने जोड दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेत्रहिन युवा संघका केन्द्रीय महासचिव अर्जुन रावलले राजनीतिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता नभएकाले अपाङ्गता भएका व्यक्तिका सवाल उठ्न नसकेको बताए ।
उनले समावेशी एवं अर्थपूर्ण सहभागिताको माध्यमबाट अपाङ्गता समुदायका व्यक्तिहरुले निर्णय प्रकृयामा बस्न पाउने कुराको सुनिश्चिता हुनु पर्नेमा जोड दिए । सरकारी कार्यालयहरुमा डिजिटल वडापत्र राख्नुपर्ने र निर्वाचन प्रणाली अपाङ्गमैत्री हुनुपर्ने उनले बताए ।
‘संविधान अनुसार निर्वाचनमा उम्मेदवारसम्म बन्ने व्यवस्था भयो । समानुपातिकतर्फबाट छनोट हुँदा छनोट नहुने अवस्था छ । यसका लागि निर्वाचन प्रणाली सुधार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
उनले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त निर्वाचन प्रणाली हुनु पर्ने बताए । हरेक क्षेत्रका भौतिक संरचना पनि अपाङ्गमैत्री हुनुपर्ने उनले बताए ।
बनेका नीति नियमहरुलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
अपाङ्गता भएका व्यक्तिहरुलाई भोट बैङक मात्रै बजनाृने गरेको उनको गुनासो छ । प्रदेश सरकारले अपाङ्गता नीति बनाउन आवश्यक रहेको उनको भनाई रहेको छ ।
नेत्रहिन युवा संघले अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा विगत २०६८ सालदेखि काम गर्दै आइरहेको छ । देशभर १० शाखा रहेको तथा संस्थामा हालसम्म आठ सयभन्दा बढी अपाङ्गता भएका युवाहरु आवद्ध भएका छन् ।
संघले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता एवम् प्रतिनिधित्व, पहुँचयुक्त निर्वाचन प्रणाली, क्षमता विकासलगायतका विभिन्न क्षेत्रमा केन्द्रित रही निरन्तर काम गरिरहेको छ ।
दृष्टिविहीन युवा संघ नेपालले आफनो परियोजना मार्फत दृष्टिविहीनहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थियो । उक्त परियोजना साउन १६ गतेदेखि सकिएको छ ।