धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

देशमा दुई ठुला दल मिलेपछि व्यवसायीमा आस पलाएको छ : अध्यक्ष ढकाल

देशमा दुई ठुला दल मिलेपछि व्यवसायीमा आस पलाएको छ : अध्यक्ष ढकाल

धनगढी । नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेपछि व्यवसायीमा आसा पलाएको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघको ५० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले कोरोना कहरपछि ओरालो लागेको उद्योग व्यवसाय राजनीतिक अस्थिरताका कारण माथि उठ्न नसकेको बताएका हुन् ।

कोरोना पछि व्यापार व्यवसाय निरन्तर ओरालो लाग्यो व्यवसायीका पिडा मैले भनिराख्नु पर्दैन अध्यक्ष ढकालले भने, “कोरोना कहरपछि आर्थिक मन्दी सुरु भयो त्यस कारण धेरै व्यवसायी पलायन पनि भइसकेका छन्, त्यसपछि हामीहरूले देशको आर्थिक क्षेत्र सुधार गर्ने प्रयास गरेकै हौँ तर ६ महिना ३ महिनामा फेरिने नेपालको सरकारका कारण आर्थिक सुधार हुन सकेन ।” 

हाल देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेको छ हामी व्यवसायी आशावादी भएका छौँ उनले भने “अब राजनीतिक स्थायित्व हुन्छ र देशको अर्थतन्त्र सुधार हुन्छ भन्ने हामीहरूले आस लिएका छौँ, यसको सुरुवात सेयर मार्केटबाटै भएको छ, सरकारले अर्थतन्त्रका लागी सुरुवाती सकेंत राम्रै देखाएको छ, यो सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”

उद्योग वाणिज्य महासघंलेनै निकै लबिङ गरेकै कारण बैकं तथा वित्तीय संस्थाको ब्याजदरमा सुधार भएको ढकालले बताए ।

बैकं तथा वित्तीय संस्थाको ब्याजदरले मात्रै नभएर आर्थिक मन्दी आउनुमा अन्य थुप्रै कारण रहेछन् ढकालले भने “राजनीतिक स्थायित्व सगैं बैकं तथा वित्तीय संस्थामा समानता समेत कायम हुँदै गएको छ, हामीले सीमा क्षेत्रमा कडाइ गर्नुपर्छ भनेर सशक्त आवाज उठाइरहेका छौँ, सीमामा कडाइ नभएकै कारण सरकारले ठुलो राजश्व गुमाउनु परेको छ र नेपाली व्यवसायीहरूले लगानीको प्रतिफल पनि नपाएको स्थिति छ, त्यस कारण सीमामा निकै कडाइ गर्नुपर्छ ।”

नेपालमा निजी क्षेत्रको सहकार्यमा नेपाल सरकारले गरेको लगानी सम्मेलनपछि परिमार्जन भएका कानुनहरूले लगानीको वातावरण सहज बनाएको अध्यक्ष ढकालले बताए ।

कानुन परिवर्तन गर्नका लागी हामीले लबिङ गरेका थियौँ र ८ वटा कानुन परिमार्जन भएका छन्, यसले हामीले निरन्तर लागे माग सम्बोधन हुने रहेछन्, भन्ने प्रमाणित भएको छ उनले भने “अब स्थायित्व छ, लगानीको वातावरण बढ्ने छ, अब बैकं तथा वित्तीय संस्थाको सुधार छ, पर्यटकहरू बढिरहेका छन्, अहिलेको मौद्रिक नितिलेपनि धेरै सकारात्मक मेसेज गरेको छ र अब छोटो समयमै यो समस्या हल हुन्छ भन्ने अपेक्षा लिएको छु ।”

नेपालमा सम्भावना नै छैन, लगानीको वातावरण छैन भन्ने भाष्य निर्माण भएको छ, उनले भने “अब यो भाष्य चिरेर सानो लगानीमै राम्रै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उद्देश्य सहित हामीले १० अर्बको लगानीमा पब्लिक मिटेड कम्पनी सञ्चालन गरिसकेका छौँ, तपाईँहरूका क्षेत्रमा रहेका सम्भावित क्षेत्रमा पनि लगानी गर्ने छौँ, त्यस कारण जिल्ला, नगर उद्योग वाणिज्य सघंका साथीहरू यसमा जोडिन आग्रह पनि गर्दछु ।”

कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा आयोजित साधारण सभा कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना, आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जगं मल्ल, कञ्चनपुर उद्योग वाणिज्य सघंका अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमकै अवसरमा विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो ।

साधारण सभा उद्घाटन पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले कैलाली उद्योग वाणिज्य सघं परिसरमा निर्मित कैलाली उद्योग वाणिज्य सघंका संस्थापक अध्यक्ष दिलीप सिंह मल्लको सालिक अनावरण गरेका थिए ।

No description available.