धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रदेश सरकारद्वारा एक साता भित्रै बजेट ल्याउने तयारी

प्रदेश सरकारद्वारा एक साता भित्रै बजेट ल्याउने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट एक साता भित्र ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले भदौ २० गते भित्रै चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेटको तयारीमा जुटेको बताए । सबै मन्त्रालयहरुमा बजेट निर्माणका लागि सिलिङ पठाउने काम भइसकेको उनले बताए ।

उनका अनुसार बजेट बनाउने आधारहरु तय गरेर पठाइसकेको र मन्त्रालयहरु बजेटको काममा जुटि सकेका छन् । 

यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत आर्थिक वर्षको असार १ गते चालु आर्थिक वष २०८१÷०८२ का लागि प्रदेश सभामा बजेट पेस गरेको थियो ।

तर उक्त बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश सरकार बजेट शून्यतामा गएको छ ।

साउन २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएपछि साउन २३ गते सामयिक राजश्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरेपछि राजश्व संकलन गर्ने बाटो भने खुलाएको छ ।

तर विनियोजनसम्बन्धी कानुन नभएकाले सरकारले हालसम्म कुनै पनि खर्च गर्न नपाउने अवस्था छ । सरकार उधारोमा चलेको छ । 

प्रदेशमा विद्यमान रहेको यही समस्यालाई मुख्यमन्त्री शाह नेतृत्वको नवगठित सरकारले बजेट अन्तर्गतको (वार्षिक कार्यक्रम) पूर्ण रुपमा नयाँ ल्याउने थालेको हो । 

आर्थिक मामिला मन्त्री थापाले मन्त्रालयहरुले अबको तीन दिन भित्र मन्त्रालयहरुले बजेटको आधार पुरा गरेर अर्थ मन्त्रालयमा पेश गर्न बताए । मन्त्री थापाले भने,‘२० गते भित्रै बजेट ल्याउछौँ । छिटो भन्दा छिटो ल्याउने प्रयास गछौँ ।’ 

अहिलो सरकारले ल्याएको बजेट कै हाराहारीमा बजेट आउने मन्त्री थापाले बताए । संघीय सरकारले दिने अनुदानमा केही कटौती भएको र आन्तरिक आय स्रोतमा पनि कमी आएको उनले बताए । ‘जति पूर्व बजेट थियो त्यती नै बजेट आउँछ,’मन्त्री थापाले भने । 

बजेट शून्यताको अवस्थामा दोब्बर कर तिरेका नागरिकहरुका लागि अब आउने बजेटमा व्यवस्थापन गर्न र दोब्बर कर तिरेका नागरिकको रकम फिर्ता हुने मन्त्री थापाले बताए ।

उनले सम्बन्धीत कार्यालयले बजेटमा समायोजन गर्न प्रक्रिया रहेकाले आफूहरुले बजेटमा व्यवस्था गर्न बताए । 

भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव सुरतबहादुर बमले भने,‘हाम्रो तयारी केही पनि छैन् । सरकारको निर्देशन आइसक्या छैन्,’ ।

आफूहरुलाई मागदर्शन आएको र पुरानै सिलिङमा बनाउन भनेको उनले बताए । उनले प्रदेश सरकारले अभिलेख राख्नका लागि (सिस्टक) खोली दिए आफूहरु तयारीमै रहेको बताए । 

यस अघि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।