धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

‘नगरप्रमुख शैक्षिक सुधार कोष’ ५४ लाख ९३ हजार आर्थिक सहयोग

‘नगरप्रमुख शैक्षिक सुधार कोष’ ५४ लाख ९३ हजार आर्थिक सहयोग

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ ५४ लाख ९३ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ को साउनबाट सुरु भएको ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ मा चालु आर्थिक वर्ष २०८१÷०८२ को वैशाख ९ गतेबाट आर्थिक सहयोग हुन थालेको हो । 

धनगढी उपमहानगरपालिका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख घुम्मन सिंह बडायकले ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्नेहरुको संख्या बढ्दै जान थालेको बताए ।

कोषमा जम्मा भएको रकमबाट नमुना विद्यालयका सबै छात्राहरुलाई निःशुल्क रुपमा पोशाक, झोला र जुता लगायतका सामाग्रीहरु वितरण गर्न तयारीमा रहेको उनले बताए । 

उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको नियमित पठनपाठनका साथै शैक्षिक गुणस्तर सुधार्न ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको थियो । सो कोषमा बैंक, विभिन्न संघसंस्था तथा ब्यक्तिले आर्थिक सहयोग गर्दै आइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाले गत आर्थिक वर्षको २०८०÷०८१ को साउनदेखि ग्रामीण क्षेत्रका पाँच वटा विद्यालय छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ । 

२०८० सालमा कक्षा ८ को १७ वटा विद्यालयको नतिजा शून्य आएको भन्दै विद्यालय सुधारका लागि उपमहानगरपालिकाले केही विद्यालयलाई नमुना विद्यालय बनाउने उदेश्यले नमुना विद्यालयको अवधारण ल्याएको हो । 

छनौट गरेका विद्यालयमध्य वडा नम्बर ९ मा रहेको भवानी माध्यमिक विद्यालय, वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, वडा नम्बर १६ मा रहेको बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय रहेको छ । 

छनौट गरेका पाँच विद्यालयका छात्राहरुलाई ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ को रकमबाट शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने उपमहानगरपालिकाले जनाएको छ । 

महाशाखा प्रमुख बडायकले भने,‘धनगढी भित्रका सबै विद्यालयलाई राम्रो बनाउन सकिँदैन । केही स्कुललाई मोडल स्कुल बनाउने । मोडल स्कुल लाई हेरेर अरु स्कुलहरुले पनि मोडेल स्कुल बन्छन्,’ उनले भने,‘उहाँहरुले पनि मोडेल स्कुल देखेर । अरु–अरुले पनि सिक्छन् । सम्रग शिक्षा प्रणाली राम्रो हुन्छ भन्ने उदेश्यले हो ।’

नमुना विद्यालयका शिक्षकहरु लाई तालिमको समेत दिइएको उनले बताए । उनले नमुना विद्यालयहरुमा शिक्षकको कमी भएको ठाँउमा नगर शिक्षकको पनि व्यवस्था गरेको बताए ।

विद्यालयमा थप कक्षा सञ्चालनका लागि समेत आर्थिक सहयोग गरेको उनले बताए । विद्यार्थीहरुबाट लिइने परीक्षा शुल्क समेत उपमहानगरपालिकाले व्यहोरने गरी छुट गरेको उनको भनाई रहेको छ । 

उनले नमुना विद्यालयमा पिलेस्टेर्सन, स्मार्ट बोर्डहरु जडान भएको र अतिरिक्त क्रियाकलापका लागि ग्रासरुट क्रिकेट प्रतियोगिता सुरु गरेको बताए । यस वर्षदेखि ग्रासरुट फुटबल प्रतियोगिता सुरु गर्न तयारीमा रहेको उनले बताए । 

उनले छात्राहरुलाई सहयोगका लागि शैक्षिक सामाग्रीको खरिद प्रक्रिया अगाडि बढाइसकेको बताए । सामान खरीद हुँदा साथ हस्तातरण गर्न तयारीमा रहेको उनले बताए । 

उनले भने, ‘छात्राहरुलाई दशैँ अगाडी नै सामाग्रीहरु हस्तातरण गर्न भन्या हो । तर सरकारी कोषमा आइसकेपछि खर्च गर्न प्रक्रिया पदति हुन्छ । निश्चित पदति प्रक्रिया अपनाउँदा खेरी अलि कति ढिल्लो हुन्छ कि भने हो ।’ 
उनका अनुसार सुरुको खरिद प्रक्रियालाई रद गरेर फेरी खरिद गर्नुपर्ने भएकाले केही समय लाग्ने हुँदा दशैँ सम्म हस्तातरण गर्न सकिन कि भन्ने छ । कोषमा जम्मा भएको रकमले सामान खरिदमा कमी भए उपमानगरपालिकाले थप गर्न उनको भनाई रहेको छ । 

सबै भन्दा बढी बैँकहरुको सहयोग

धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा सबै भन्दा बढी बैँकहरुले सहयोग गरेका छन् । कोषमा बैँकहरु सँग विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको देखिन्छ । शिखर इस्योरेन्स धनगढीले एक लाख ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ । 

कोषमा काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन डिस्टिलर्ट लिमिटेडले पाँच लाख २५ हजार, भाटभटेनी सुपरमार्केटले पाँच लाख २५ हजार रुपैयाँ, माछापुच्छे«े बैँकले पाँच लाख, ग्लोबल बैँकले पाँच लाख, कृषि विकास बैँकले पाँच लाख, एभरेष्ट बैँक लिमिटेडले २१ लाख र सिद्धार्थ बैँक लिमिटेडले २१ लाख आर्थिक सहयोग गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

यस्तै हिमालयन बैँक धनगढीले एक लाख ९९ हजार पाँच सय, महालक्ष्मी बैँकले प्रन्ध लाख पाँच हजार, नेपाल एसबिआई बैँकले एक लाख पाँच हजार, नबिल बैँकले ७८ हजार सात सय, प्रभु बैँकले ५२ हजार, एनएमवि बैँक लिमिटेडले ५२ हजार, गरिमा विकास बैँकले ५० हजार, सुदूरपश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले २० हजार र नेपाल बैँक लिमिटेडले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।