धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

धनगढीको ‘हरियाली प्रवर्द्धन’ अन्तर्गत ११ हजार बढी बोट बिरुवाहरु बृक्षारोपण

धनगढीको ‘हरियाली प्रवर्द्धन’ अन्तर्गत ११ हजार बढी बोट बिरुवाहरु बृक्षारोपण

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘हरियाली प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत ११ हजार तीन सय ७६ वटा विभिन्न बोट बिरुवाहरु बृक्षारोपण गरेको छ ।

उपमहानगरपालिकाले २०७९ फागुनदेखि २०८१ असार मसान्तसम्म ‘हरियाली प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत बोट बिरुवाहरु बृक्षारोपण गरेको हो । 

धनगढी उपमहानगरपालिका जिन्सी व्यवस्थापन शाखा प्रमुख कृष्णराज जोशीले सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यले बोट बिरुवाहरु बृक्षारोपण गरेको बताए । धनगढीलाई पर्यावरणमैत्री बनाउनका लागि पनि बृक्षारोपणले मदत पुग्ने उनले बताए । 

उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत बृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियान थालिएको हो ।

प्रदेशकै राजधानी समेत रहेकाले धनगढी नगर क्षेत्रलाई हरियाली प्रवर्द्धन गर्ने र पर्यावरण मैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियान अन्तर्गत बृक्षारोपण अभियानलाई तीव रूपमा अघि बढाएको जनाएको छ ।

शाखा प्रमुख जोशीले बृक्षारोपणका लागि बृक्षारोपण नभई उपमहानगरपालिकाले रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकता अनुसार मल तथा सिँचाइको पनि ब्यवस्था गरी नियमित हेरचाह गर्ने गरेको बताए ।

धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड, वडा कार्यालयहरुमा र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरेको उनले बताए । 

बृक्षारोपण गरिएका बोटबिरुवाको संरक्षणका लागि पाँच हजार पाँच सय १२ वटा ट्री–गार्ड समेत लगाइएको उनले बताए । उनले बाँकी रहेका बोटबिरुवाहरुमा ट्री–गार्ड लगाउने काम भइरहेको बताए । 

अब तीन वटा सडकमा दुई हजार ३५ बोटबिरुवा रोप्ने तयारी रहेको उनले बताए । उनले मुख्य सडक कैलाली पुलदेखि चौराहासम्म एक हजार, वडा नम्बर ५ देखि वडा नम्बर ११ को सिमानासम्म ६ सय र मालपोत–गुल्मचर्च सडकमा चार सय ३५ बोटबिरवा बृक्षारोपण गर्न तयारी रहेको बताए । 
शहिद गेटदेखि क्यापरोडसम्म कालिका कन्टक्र्सन प्रालिले आफै बोटबिरुवाहरु लगाई रहेको उनको भनाइ रहेको छ । 

हुलाकी राजमार्गको मनहेरादेखि बेली क्षेत्रमा मौवा, अमला, जामुन र सलिफा गरेर पाँच प्रकारका जङगल क्षेत्रमा चराचुरुङगीको आहारका लागि फलफूलका बोटबिरुवाहरु लगाइएको उनले बताए ।

बृक्षारोपण गरेका बोटबिरुवाहरुको हेरचाह गर्नुका साथै दैनिक सिँचाई समेत गर्न गरेको उनले बताए । 

उनले आफूहरु सँग अझै नौ हजार बोटबिरुवा मौजाद रहेकाले खाली सडकहरुमा बृक्षारोपण गर्न बताए । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ‘हरियाली प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत बृक्षारोपणका एक करोड बजेट विनियोजन गरेको शाखा प्रमुख जोशीले बताए ।

बृक्षारोपण गरेका बोटबिरुवाहरुमा संरक्षणका लागि लगाइएका ट्री–गार्डहरुमा कुनै संघ÷संस्था तथा ब्यक्तिले आफ्नो नाम राख्न चाहेमा उपमहानगरपालिकाले प्रति ट्री–गार्ड पाँच हजार रुपैया लिने गरेको छ ।

उपमहानगरपालिकाको ‘हरियाली प्रवर्द्धन’ अभियानमा बृक्षारोपणका लागि जनस्तरबाट २०७९ फागुनदेखि २०८१ असार मसान्त सम्ममा ४५ लाख रुपैयाँ जति संकलन भएको छ । 

उक्त संकलन रकम सबै बोटबिरुवाहरुको हेरचाह र ट्री–गार्डमा खर्च भएको छ । बृक्षारोपण कार्यक्रममा पछिल्ला दिनहरुमा नागरिक तथा विभिन्न संघ÷संस्थाको सहभागिता बढ्दै गएको छ ।