धनगढी पोष्ट सोमबार, २८ असोज २०८१   October 14, 2024

प्रदेश सरकारले भदौ भित्र बजेट ल्याउने

प्रदेश सरकारले भदौ भित्र बजेट ल्याउने

धनगढी । सुदूरपश्चिम प्रदेश बजेटविहीनको दुई महिना पुग्नै लाग्दा समेत प्रदेश सरकार बजेट ल्याउन सकेको छैन् ।

भदौको सुरुमै बजेट ल्याउने बताएको प्रदेश सरकारले भदौको अन्तिम सातासम्म पनि बजेट ल्याउन सकेको छैनन् ।  

मुख्यमन्त्री कमलबहादुर शाहले भने,‘यो महिना भित्र बजेट आउँछ ।’ सुरुवातमा मन्त्रीमण्डल बनेको भएपनि मन्त्रीहरुलाई केही समय मन्त्रालय र कार्यालय बुझने र बजेट लाई कसरी अगाडि बढाउने भने विषयमा छलफललगायत पुर्नरावलोकन गर्नुपर्ने भएकाले गर्दा नै बजेट ल्याउन ढिलाई भएको मुख्यमन्त्री शाहले बताए । 

गत साउन २१ मा मुख्यमन्त्री बनेका शाहले साउन भित्रै बजेट ल्याउने बताएका थिए । तर साउन ३० गते प्रदेश सभाबाट विश्वासको मत पाइसकेपछि भदौको पहिलो सातासम्म बजेट ल्याउने बताएका थिए । 

पहिलो साता पनि बजेट ल्याउन नसकेपछि भदौ १०, त्यसपछि भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने डेटलाइन निर्धारण गरेका मुख्यमन्त्रीले अब भदौ अन्तिम सातासम्म बजेट ल्याउने बताएका छन् । 

पटक–पटक डेटलाइन तोकेर बजेट निर्माणमा लागेको प्रदेश सरकारले अझैसम्म पनि सम्म पनि बजेट ल्याउन नसकेको हो । 

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत आर्थिक वर्षको असार १ गते चालु आर्थिक वष २०८१÷०८२ का लागि प्रदेश सभामा बजेट पेस गरेको थियो ।

तर राजनीतिक घटनाक्रममा आएको फेरबदलले प्रदेश सरकारले बजेट पास गर्न नसक्दा बजेट फेल भयो । तर उक्त बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश सरकार बजेट शून्यतामा गएको छ ।

साउन २१ गते शाह नेतृत्वको सरकार गठन भएपछि साउन २३ गते सामयिक राजश्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरेपछि राजश्व संकलन गर्ने बाटो भने खुलाएको छ । तर विनियोजनसम्बन्धी कानुन नभएकाले सरकारले हालसम्म कुनै पनि खर्च गर्न नपाउने अवस्था छ । 

बजेट नआएकै कारण गत साउनदेखि प्रदेश सरकार अन्तर्गतका कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकारका सबै कार्यालयको दैनिक प्रशासनिक खर्च पनि उधारोमा चलिरहेको छ । 

मुख्यमन्त्री शाहले एक÷दुई चरण बजेटका विषयमा मन्त्रालयहरु र आर्थिक मामिला मन्त्रालय बिच छलफल गर्नुपर्दा खेरी बजेट ल्याउन ढिलाई भएको बताए । अझै मन्त्रालयहरु बिच छलफल भइरहेकाले अब एक÷दुई दिन भित्रै छलफल सक्ने र बजेट ल्याउन तयारी गर्न मुख्यमन्त्री शाहले बताए । 

‘मन्त्रालय बिचको छलफल सकिएपछि बजेट ल्याउने तयारी थाल्छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘दुई÷तीन दिन बजेट भाषणदेखि लिएर बजेटको तयारी लाग्छ अनि बजेट आउँछ ।’ 

यसअघि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर अबको बजेट करिब दुई अर्ब हाराहारीमा घटेर ल्याउनुपर्ने अवस्था छ ।