धनगढी पोष्ट
शनिबार, १० साउन २०७७ मा प्रकाशित
काठमाडौँ
नेपालमा यो वर्षको मनसुन भित्रिएको शनिबार ४३ औँ दिन हो । यो वर्ष देशभर भारी वर्षा, बाढी तथा पहिरोका घटनाले जनधनको क्षति ठूलो भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार मनसुनको अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका घटनामा कुल १३५ जनाको ज्यान गएको छ । अरु ५० जना अझै बेपत्ता रहेका छन् ।
देशभर यो अवधिमा सबैभन्दा धेरै पहिरोका कारण १ सय २६ जनाको ज्यान गएको छ भने ४३ जना अझै बेपत्ता छन् । पहिरोबाट ३७८ परिवार प्रभावित भएकोमा २६६ घरमा क्षति पुगेको छ ।
यस्तै भारी वर्षाका कारण ६ जनाको मृत्यु तथा एकजना बेपत्ता रहेको परिषदले उल्लेख गरेको छ । देशभर भारी वर्षका कारण मनसुन अवधिमा ४ सय ४८ परिवार प्रभावित भएका छन् । यस्तै बाढीबाट अहिलेसम्म तीनजनाको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता छन् । बाढीका कारण देशभर २ सय ६ परिवार प्रभावित भएको परिषदले जनाएको छ । मनसुन अझै बाँकी रहेकाले विपदका घटना र क्षति बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ ।