धनगढी पोष्ट
सोमबार, १२ साउन २०७७ मा प्रकाशित
धनगढी
धनगढी सत्ती हुलाकी सडक खण्ड अन्तरगत वसन्ता जैविक मार्गमा पर्ने रुख कटानको कार्य छ महिनादेखि अवरुद्ध भएको छ । बन मन्त्रालयले रुख काट्ने अनुमति दिए पनि बन डिभिजन कार्यालयले प्रकृया शुरु नगर्दा काम अवरुद्ध हुन पुगेको हो ।
रुखको लागत संकलनको अनुमति पाएको ६ महिना सम्म पनि रुख कटानको आदेश भने वन डिभिजनले नदिएको हुलाकी सडक कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए । ‘वनले वसन्ता क्षेत्रमा रुख कटानीको अनुमति नदिंदा काम अघि बढ्न सकेको छैन’ इन्जिनियर मडैले भने– ‘न त प्रक्रिया मिलेन भन्छ, न त रुख काट्ने अनुमति नै दिन्छ, वनको अल्झनले काम गर्न निक्कै समस्या भएको छ ।’
डिभिजन वन कार्यालय प्रमुख कडेलले भने रुखको नम्बरिङ सकिए लगत्तै लकडाउन भएका कारण थप प्रक्रिया अघि बढ्न नसकेको बताए । रुखको नम्बरिङ फाइल वन विभाग हुँदै मन्त्रालयबाट स्वीकृत हुने बताउँदै उनले नम्बरिङ गरेको फाइल पठाउन नसक्दा काम लम्बिएको बताए । ‘केहि दिनमै म आफै काठमाण्डौं गएर नम्बरिङको फाइल मन्त्रालयमा पेश गर्ने छु’ डिभिजन प्रमुख कडेलले भने–‘त्यसपछि अर्को प्रक्रिया सुरु हुने छ ।’
पहिलो चरणमा रुखको नम्बरिङ गर्ने स्वीकृति मन्त्री परिषदको निर्णयले गर्ने हुँदा ढिलो भएको बताउँदै डिभिजन प्रमुख कडेलले आगामी चरण भने मन्त्रालयबाटै टुङ्गीने हुँदा छिटो निर्णय हुने बताए ।
गत फागुन १० गते नै वसन्त क्षत्रमा बन्ने हुलाकी सडकका लागि वन मन्त्रालयले रुख कटानका लागि पहिलो चरणको स्वीकृति दिएको थियो । सो स्वकृतिसंगै बसन्ता क्षेत्रले ओगेट्ने क्षेत्रमा पर्ने रुखको छनौट गरी नम्बरिङ कार्य सुरु भएको थियो ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले रुखको नम्बरिङ गर्ने सकिएको एक सातामै रुख कटान प्रक्रिया अघि बढ्ने बताएका थिए ।