धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

भन्सारको प्रथम चौमासिकमा राजश्व संकलनको लक्ष्य पुगेन

भन्सारको प्रथम चौमासिकमा राजश्व संकलनको लक्ष्य पुगेन

धनगढी । कैलाली भन्सार कार्यालयले प्रथम चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि कार्तिक मसान्तसम्म लक्ष्य अनुसारको राजश्व संकलन गर्ने नसकेको हो । 

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी तेज बहादुर रावलले क्षमता अनुसारको राजश्व संकलन भइरहेको बताए । उनले भने,  ‘बजारमा माग भयो भने मालवस्तु आयात हुने हो ।

आयात कम भयो भने राजश्व घट्ने हो । त्यही भएर अहिले बजारमा माग पनि नभएको अवस्था हो की ? जति माग हुन्छ त्यति आयात हुने हो । त्यही भएर अलिकति आयात कम भएको हुनाले राजश्व विगतको तुलनामा कम भएको हो ।’

कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य कम छ  । तर पनि लक्ष्य अनुसारको राजश्व भने संकलन गर्ने सकेको छैन् । 

भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिकमा तीन अर्ब ५१ करोड ३३ लाख लक्ष्य रहेकोमा दुई अर्ब ४१ करोड ३८ लाख मात्रै राजश्व संकलन भएको छ ।  

जुन लक्ष्यको   ६८.७० प्रतिशत हो । पहिलो चौमासिकमा संकलित राजश्व वार्षिक लक्ष्यको २१.६२ प्रतिशत हो । कैलाली भन्सार कार्यालय चालु आर्थिक बर्षमा ११ अर्ब १६ करोड २८लाख ३० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । 

भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷०८१ को प्रथम चौमासिकमा पनि लक्ष्यअनुसार राजश्व संकलन गर्ने सकेको थिएन । गतआर्थिक वर्षको प्रथम चौमासिकमा तीन अर्ब ५६ करोड नौ लाख लक्ष्य रहेकोमा दुई अर्ब २३ करोड ३६ लाखमात्रै राजश्व असुली गरेको थियो ।

चालु आर्थिक वर्षको प्रथम चौमासिकको साउन महिनामा ८२ अर्ब ९४ करोड ६९ लाख लक्ष्य रहेकोमा ५७ अर्ब ५० करोड ७३ लाख मात्रै राजश्व असुली भएको छ । भदौ महिनामा ९० अर्ब ८३ करोड ८१ लाख लक्ष्य रहेकोमा ५३ अर्ब ८४ करोड ९९ लाख मात्रै राजश्व असुली गरेको हो । 

यस्तै असोज महिनामा ८७ अर्ब ६१ करोड ७९ लाख लक्ष्य रहेकोमा ६७ अर्ब २४ करोड ९१ लाख मात्रै राजश्व असुली गरेको छ । कार्तिक महिनामा ८९ अर्ब ९३ करोड ३३ लाख लक्ष्य रहेकोमा ६२ अर्ब ७८ करोड ३२ लाख मात्रै राजश्व असुली भएको कैलाली भन्सार कार्यालयले जनाएको छ । 

सूचना अधिकारी रावलका अनुसार चालु आर्थिक वर्षको राजश्व संकलन पनि विगतका वर्षहरुको राजश्व संकलनको  जस्तै छ । चालु आवमा केही सुधार भए पनि लक्ष्य पुरा गर्न गाह्रो नै रहेको रावलले बताए ।

विद्युतीय सवारी साधनले गर्दा पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा राजश्व संकलनमा पनि असर परेको उनले बताए । राजश्वको लक्ष्य घटाउनका लागि विभागमा पहल भइरहेको उनको भनाइ छ ।

भन्सार क्षेत्र भन्दा बाहिरबाट आयात भइरहेकाले त्यसलाई नियन्त्रण गर्नेका लागि गस्ती समेत गरिरहेको उनले बताए ।

उनले खुल्ला सिमानाका कारण राजश्व चुवावट हुँदा पनि लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिरहेको बताए । 

चालु आर्थिक बर्षको राजश्व संकलन लक्ष्य गत वर्षको तुलनामा ४१ अर्ब १९ करोड आठ लाख ४० हजार कम हो । 

गत आर्थिक वर्ष ०८०÷०८१ मा पनि कुनै महिनामा राजश्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा ११ अर्ब ५८ करोड २४लाख७० हजार राजश्व संकलनको वार्षिक लक्ष्य रहेकोमा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार मात्रै राजश्व संकलन भएको थियो ।

जुन लक्ष्य भन्दा झण्डै ३१ दशमलव ६४ प्रतिशत कम अर्थात ६८ दशमलव ३६ प्रतिशत मात्रै राजश्व असुली भएको थियो ।