धनगढी पोष्ट
बुधबार, १४ साउन २०७७ मा प्रकाशित
धनगढी
मंगलबार राती देखिको लगातारको बर्षाले कैलालीमा कर्णाली नदीमा पानीको वहाव खतरा नजिक पुगेको छ । वहाव खतरा जजिक पुगेपछि नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ । ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटिय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ ।
अहिले कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिर्घवहादुर बोगटीले जानकारी दिए । उनले नदीमा पानीको बहाव ९ मिटर क्रस हुने बित्तिकै तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए ।
खासगरी कर्णाली नदिमा पानीको बहाव बढेसंगै कैलालीको टीकापुर नगरपालिका र बर्दियाका केही बस्तीमा जोखिम बढेको छ । ‘अहिले पनि निरन्तर बर्षा भैरहेकाले जोखिम अझै बढ्न सक्छ’ जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले भने कर्णाली संगै नदि आसपासका बस्तीमा सचेत हुन आग्रह गरेका छौ, उद्धारको टीम तयारी अवस्थामा राखेका छौं ।’
तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
यस संगै कैलालीको कान्द्रा, पथरैया र काडा, नदीमा बाढी आएर पानी गाउँमा पसेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्तीहरु डुवानमा परेका छन् ।