धनगढी पोष्ट बिहिबार, २५ पुष २०८१   January 9, 2025

खाद्यले किन्यो ३४ हजार क्विन्टल धान

खाद्यले किन्यो ३४ हजार क्विन्टल धान

धनगढी । खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीबाट दुई महिनामा ३४ हजार चार सय ४४ दशमलव ४५ क्वीन्टल धान खरिद गरेको छ । खाद्यले कात्तिक ११ गतेदेखि पुस १४ गतेसम्म कैलालीका ६ ठाउँबाट धान खरिद गरेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दिपक थापाका अनुसार खाद्यले तीन गोदाम र तीन खरिद केन्द्रबाट धान खरिद गरेको हो ।

खाद्य कम्पनीले मोहनपुर गोदाम धनगढीबाट २२ हजार ६ दशमलव २८ क्विन्टल, टीकापुर गोदामबाट १४ हजार नौ सय ४० दशमलव ६५ क्विन्टल र सत्ती गोदामबाट १० हजार दुई सय ६५ दशमलव ५७ क्विन्टल धान खरिद गरेको छ । 

यस्तै भजनी खरिद केन्द्रबाट दूई हजार पाँच सय ९१ दशमलव ८४ क्विन्टल, जोशीपुर खरिद केन्द्रबाट चार हजार एक सय ४२ दशमलव ६६ क्विन्टल र गौरीगंगा खरिद केन्द्रबाट दुई सय ७९ दशमलव ४५ क्विन्टल धान गरिद भएको खाद्य तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । 

प्रमुख थापाका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि ५५ हजार क्विन्टल धान खरिदको कोटा छ । खरिद पक्रिया चलिरहेकाल खरिदका लागि आएको धान खरिद गरिरहेको उनले बताए । 

‘धेरै खरिद ठाउँमा धान बिक्रीका लागि आउँनै छोडिसक्या छ । यो मोहनपुर गोदाममा मात्रै र केही केन्द्रमा केही फ्याटफुट आउने ग¥या छ । अहिले अन्यत्र तपाईको पाँच वटा ठाउँमा लगभग कमै भा छ,’ उनले भने । 

केन्द्रले दिएको कोटा अनुसार आफूहरुले खरिद गरिरहेकाले गर्दा किसानहरुले जति धान ल्याउछन आफूहरुले खरिद गरिरहेको उनको भनाइ छ । 

विगतका वर्षहरुमा गोदाम अभावले गर्दा भाडाका गोदाममा धान राख्दै आइरहेको भए पनि यस वर्ष पालिकाहरुले गोदाम उपलब्ध गराएपछि खाद्य कम्पनिलाई धान खरिदमा केही सहज भएको थियो । 

कम्पनीले पराल, भुस, पोकटा, माटो नभएको सफा धान र नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गर्दै आइरहेको छ । 

गत आर्थिक वर्षमा कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ५८ रुपैयाँमा खरिद गरेको थियो । तर, यस वर्ष भने मूल्य बढाएर प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । 

किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिस र स्वघोषणा–पत्र ल्याउनु पर्ने बताइएको छ ।

खाद्य कम्पनीलाई गत वर्ष ३५ हजार धान खरिद गर्ने कोटा निर्धारण गरिएकोमा २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो ।

यस वर्षपनि खाद्य कम्पनिले कोटा अनुसार धान खरिद गर्ने नसक्ने देखिएको छ ।