धनगढी पोष्ट
बुधबार, २४ पुष २०८१ मा प्रकाशित
धनगढी । सेभ द चिल्ड्रेन इन्टरनेशनल र विकासका लागि युवा ऐक्यवद्धता (यार्ड) ले धनगढीका अध्ययनरत सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २६० जना बालबालिकालाई यो सहयोग प्रदान गरिएको हो । धनगढी उपमहानगरपालिका वडा नं. १४ फुलबारीमा स्थित श्री पञ्चोदया माध्यमिक विद्यालयमा, वडा नं. १२ स्थित श्री सिद्धनाथ माध्यमिक विद्यालय, वडा नं. २ स्थित श्री नवदुर्गा माध्यमिक विद्यालय र वडा नं. ११ स्थित श्री ठेकराज माध्यमिक विद्यालय गरी प्रत्येक विद्यालयका ६५ बालबालिकालाई २ जोर विद्यालय पोशाक र एक थान ज्याकेट वितरण गरिएको छ भने विद्यालयका बाल क्लबहरूलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएको छ ।
सामग्रीहरु विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको रोहबरमा हस्तान्तरण गरिएको कुरा जानकारी गराउँदै यार्डका महासचिव गोपाल थापाले यस सहयोगले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा टेवा पुग्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् । यार्डले बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिँदै यो परियोजना सञ्चालन गरेको छ । विशेषगरी, पछाडि परेका समुदायका बालबालिकालाई लक्षित गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा सहयोग पुरयाउने लक्ष्य राखिएको छ ।
बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई सुनिश्चित गर्न बालबालिका माथि हुने सबैखाले हिंसा, दुव्र्यवहार तथा हानीबाट बचाउनु परियोजनाको मुख्य उद्देश्य रहेको र सोही अनुरुप विद्यालयको सेवा क्षेत्रभित्रका, अपांगता भएका, टुहुरा, दलित, जनजाती तथा संकटासन्न समुदायका बालबालिकाको शारिरीक, मानसिक, बौद्धिक तथा संवेगात्मक पक्षको विकासमा सहयोग गरी विद्यार्थीको शैक्षिक विकासमा अभिवृद्धि गर्न विद्यालयमा अवस्थित बाल क्लबलाई शैक्षिक सामग्री, खेलकुद सामग्री प्रदान गर्नुका अतिरिक्त संरक्षणको जोखिममा रहेका बालबालिकाको शारिरीक, मनोवैज्ञानिक पक्षलाई ध्यानमा राखि विद्यार्थीको पठनपाठन कार्यमा सहयोग पुगोस् भन्ने अभिप्रायका साथ स्कुल युनिफर्म र न्यानो कपडा (ज्याकेट) वितरण गरिएको यार्डका कार्यक्रम संयोजक डम्बर बोहराले बताए ।
कार्यक्रममा धनगढी वडा नं २ का वडा अध्यक्ष धर्मराज ओझाले सेभ द चिल्ड्रन र यार्डले छोटो समयमा बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै संस्थाको यस्तो प्रकारको सहयोगले वडामा रहेका बालबालिको अधिकार र संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको बताए ।
यसैगरी, चिसो मौसममा विद्यार्थीलाई विद्यालय पोसाक र न्यानो कपडाका साथै बालक्लबलाई शैक्षिक खेलकुद सामग्रीको सहयोगले विद्यार्थीको शैक्षिक लब्धी र अतिरिक्त क्रियाकलपको विकासमा टेवा पुग्ने भन्दै पञ्चोदया माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमा कुमारी गिरी र प्रधानाध्यापक गोविन्दराज जोशीले खुशी व्यक्त गर्दै यार्ड कैलालीलाई धन्यवाद ज्ञापन गरे ।