धनगढी पोष्ट
मङ्गलबार, ०१ माघ २०८१ मा प्रकाशित
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको बन क्षेत्रबाट भरुवा बन्दुक सहित प्रहरीकै पुर्व असइ पक्राउ परेका छन् ।
शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रबाट भरुवा बन्दुक सहित शुक्लाफाँटा नगरपालिका–६ का खडक बहादुर खड्का पक्राउ परेका हुन् । खड्का नेपाल प्रहरीका पुर्व असइ हुन् ।
शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको टोलीले खड्कालाई सोमबार नियन्त्रणमा लिएको हो । चुरे क्षेत्रको गिठे भन्ने ठाउँबाट खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखेपछि सिकार गर्नकै लागि चुरे वनमा गएको आशंकामा वनको टोलीले पक्राउ गरेको हो । बनको टोलीले खड्कालाई हतिया सहित इलाका प्रहरी कार्यालय झलारीलाई बुझाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक झलकप्रसाद शर्माले खड्कामाथि अनुसन्धान भइरहेको बताए । खड्का विरुद्ध हातहतियारदेखि चोरी सिकारीजन्य गैरकानुनी कसुरमा मुद्दा आकर्षित हुने प्रहरीले जनाएको छ ।