धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
धनगढी
अनुमती भन्दा बढी यात्रु बोक्ने दुई जना बस चालकलाई बस सहित नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले बिहिवार बेलुका गोदावरी नगरपालिका वडा नम्वर ४ बाट बस सहित चालकलाई नियन्त्रणमा लिएको हो ।
धनगढीबाट अछाम तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस र चालक अछाम चौरपाटी गाँउपालिका वडा नम्वर ५ बस्ने गोकुल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सवारी पास चेकजाँच गर्दा १३ जना यात्रु लैजाने अनुमती भएको र उक्त बसमा २२ जना यात्रुहरु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
यसैगरी महेन्द्रनगरबाट बैतडी तर्फ गईरहेको ना ७ ख २७२३ नम्बरको बस सहित चालक कन्चनपुरको पुनरवास नगरपालिका १० बस्ने भरतसिंह धनाडीलाई पनि प्रहरी पक्राउ गरेको छ । उक्त बसमा पनि सवारी पासमा १८ जना यात्रु लैजाने अनुमती भएको र उक्त बसमा ३२ जना यात्रुहरु रहेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई संक्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागी जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएको छ ।