धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा बुधबारको अबिरल बर्षा संगै आएको बाढीमा बेपत्ता भएका एक जनाको शब फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० बर्षिय ईश्वर शाहको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।
उनका अनुसार शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्धार गर्ने क्रममा चिफ्लिएर बाढीमा बेपत्ता भएका थिए ।
बुधबारको बाढीमा बेपत्ता भएका तिन जना मध्य बिहिवार भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो । अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको प्रहरी प्रबक्ता बिष्टले जानकारी दिए । उनले भने–‘आज पानी पनि रोकिएको छ, पानीको लेबल पनि घटेकाले बेपत्ता बिकको खोजी कार्य भैरहेको छ ।’
बुधबार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए ।
बुधबारको बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरि ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका थिए । ति मध्य २ हजार भन्दा बढी परिवार बिस्थापित रहेका छन् । उनीहरु अहिले बिद्यालय, हुलाकी सडक लगायतका ठाउँमा बसिरहेका छन ।