धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

शुक्रबार देशभर थपिएका संक्रमित मध्य आधा सुदूरपश्चिमका

शुक्रबार देशभर थपिएका संक्रमित मध्य आधा सुदूरपश्चिमका

धनगढी

    केही दिन यता सुदूरपश्चिममा फेरी संक्रमितको संख्या बढ्न थालेको छ । शुक्रबार देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा  मात्र त्यसको अधा भन्दा अझै एक बढी १ सय १३ जनामा संक्रमण देखियो ।

   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो ।

    यस अघिका परिक्षणमा पनि एक दिन देशभर देखिने संक्रमित र सुदूरपश्चिममा देखिने संक्रमितको संख्या बराबर जस्तै हुने गरेको थियो । सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमित असार १९ गते देखिएका थिए । त्यस दिन देशभर साढे सात सय संक्रमित देखिदा सुदूरपश्चिम प्रदेशमा मात्र  ४ सय ८९ जनामा कोरोना पुष्टि भएको थियो ।

   असार तेस्रो साता देखि साउनको पहिलो साता सम्म दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको सुदूरपश्चिम प्रदेशमा साउनको दोस्रो साता देखि  फेरी बढेको छ । बिहिवार संक्रमित पुष्टि संख्या केही कम देखिए पनि मंगलबार र बुधबार भने बढेको  छ । शुक्रबार आएर फेरी संक्रमितको संख्या ह्वात्तै बढेर १ सय १३ पुगेको छ ।

 शुक्रबार धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ जना, डडेल्धुरा प्रयोगशालामा १३ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४० जना र धुलिखेल अस्पतालमा ३४ जना गरि १ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धुलीखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नै धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन् ।