धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

धनगढीको शिवपुरी उत्तररामेश्वर धाममा लागेको महायज्ञमा ३५ लाख बढी रुपैयाँ संकलन

धनगढीको शिवपुरी उत्तररामेश्वर धाममा लागेको महायज्ञमा ३५ लाख बढी रुपैयाँ संकलन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा लागेको ऐतिहासिक हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्मा पुराण अनुष्ठान सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन एवम् विश्व कल्याण शृङ्गारिक महाआरती महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।

मंगलबार धाम विकास समितिले पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो । यही फागुन २ गते देखि १५ गते सम्म आयोजना भएको महायज्ञमा ३५ लाख बढी रुपैयाँ संकलन भएको छ ।

समितिका अनुसार ३५ लाख १३ हजार तीन सय एक रुपैयाँ संकलन भएको समितिले जनाएको छ । महायज्ञ व्यवस्थापन समितिका संयोजक तिलक बोहराले दिएको जानकारी अनुसार २७ लाख २१ हजार दुई सय ९८ रुपैयाँ खर्च भएको छ ।

महायज्ञ आयोजना गर्दा उक्त रकम खर्च भएको हो । सात लाख ९२ हजार तीन रुपैयाँ बचत भएको पत्रकार सम्मेलनमा बोहराले जानकारी दिए । महायज्ञ सञ्चालन गर्दा सबै भन्दा बढी टेन्ट व्यवस्थापन र बाह्मणलाई दक्षिणमा खर्च भएको छ ।

टेन्ट हाउस व्यवस्थापनमा सात लाख ७५ हजार खर्च भएको छ, भने बाह्मणलाई दक्षिणामा सात लाख १८ हजार छ सय ५० रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

शिवपुरी धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष फागुनमा महायज्ञ सञ्चालन गर्ने गरेको छ । पत्रकार सम्मेलनमा महायज्ञ सञ्चालन गर्दा सक्रिय व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो ।