धनगढी पोष्ट
आइतबार, १८ साउन २०७७ मा प्रकाशित
धनगढी
दार्चुलामा अबिरल बर्षा संगै खसेको पहिरोका कारण ११ परिवार बिस्थापित भएका छन् ।
आज बिहानै खसेको पहिरोले दार्चुलाको महाकाली नगरपालिका–२ मा ११ परिवार बिस्थापित भएका हुन् । आइतबार बिहान करिब साढे ६ बजेतिर मुल्ला मैखोली सडक नजिकैबाट खसेको पहिरोका कारण ११ परिवार बिस्थापित भएको महाकाली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गौरसिंह साहुले बताए ।
सडक नजिकैबाट खसेको पहिरोले चारवटा घर पुरिएका छन । वडा नम्बर २ का कालु भुल, मनि भुल, करे भुल र ललित पार्कीको घर पहिरोले पुरिएको वडाध्यक्ष साहुले जानकारी दिए । उनका अनुसार कालु भुलको पूरै घर पहिरोले पुरिएको छ भने घरभित्र रहेको अन्नपात, लुगा कपडा तथा चौपाया सबै पहिरोले पुरिएका छन् ।
अन्य तीन जना मनि भुल, करे भुल र ललित पार्कीको घर पनि पहिरोले पूर्ण क्षति भएको छ । घरमा पहिरोले पुरेपछि उनीहरु बिचल्लीमा परेका छन् ।
त्यसैगरी सोही ठाउँका अन्य ७ घर पनि पहिरोको उच्च जोखिममा परेका छन् । रुबी पार्की, अम्मरा पार्की, मानमति पार्की, हरकसिंह साहु, पारस साहु, शेरराम पार्की र जनक पार्कीको घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष साहुले जानकारी दिए ।