धनगढी पोष्ट
सोमबार, २५ चैत २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को दोेस्रो चौमासिकसम्म २४ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले चैत चौथो सातासम्म कुल विनियोजन बजेट मध्य सात अर्ब ८० करोड ७१ लाख ८४ हजार रुपैयाँ खर्च गरेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालय सुदूरपश्चिमका प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीका अनुसार चालुतर्फ चार अर्ब ४८ करोड ५७ लाख ९५ हजार रुपैयाँ अर्थात ३५ दशमलव १३ प्रतिशत खर्च भएको छ, भने पुँजीगत बजेट (विकासको काममा खर्च हुने बजेट) तीन अर्ब ३२ करोड १३ लाख ८८ हजार रुपैयाँ अर्थात १७ दशमलव ७१ प्रतिशत खर्च भएको छ ।
प्रदेश सरकारले चालु तर्फ १२ अर्ब ७७ करोड छ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको थियो, भने पूँजीगत तर्फ १८ अर्ब ७५ करोड ५९ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
प्रदेश सरकारले अझै २३ अर्ब ७२ करोड ९४ लाख ३६ हजार भन्दा बढी बजेट खर्च गर्न बाँकी रहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय सुदूरपश्चिमले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक जोशीका अनुसार प्रथम चौमासिकमा प्ररारम्भिक चरण (लागत लगायत सर्र्भे) को कामहरु बढी हुने गर्छ, भने दोस्रो चौमासिकमा ठेक्का पट्टाको सुरु सँगै सम्झौताको कामहरु हुने गर्दछ र तेस्रो चौमासिकदेखि कामकाजहरु सँगै भुक्तानी हुने प्रक्रियाले गर्दा अब बजेट खर्चले तीब्रता लिने छ ।
बजेट ढिलो गरी आएकाले गर्दा पनि प्रक्रियागत कामहरु अगाडि बढाउन ढिलाई भएकाले बजेट खर्च हुन नसकेको उनले बताए । अब बजेट खर्च बढ्नुका साथै भुक्तानीहरु हुने भएकाले गर्दा पूर्णरुपमा बजेट खर्च हुने उनको भनाइ रहेको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ सुरु भएको दुई महिनापछि गत असोज ६ गते सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सरकारको बजेट पारित भएको थियो । प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गर्ने र सभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर यसअघिको सरकार अल्पमतमा परेपछि सदनमा पेश गरेको बजेट पारित हुन सकेन । बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश बजेटविहीनको अवस्थामा थियो ।
अघिल्लो सरकारले बजेट पारित गर्न नसकेपछि नयाँ सरकार गठन भएपछि अघिल्लो सरकारले ल्याएको आकारकै बजेट भदौ ३१ गते प्रदेश सभामा पेश भएको थियो । प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ३१ अर्ब ५३ करोड ६६ लाख २१ हजार रुपैयाँ रहेको छ ।