सेतीमा बेपत्ता भएका एक स्वास्थ्यकर्मीको शव फेला पर्यो

धनगढी

   डोटी स्थित सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका दुईजना स्वास्थ्यकर्मी मध्ये एक जनाको शव फेला परेको छ ।

   बेपत्ता मध्ये डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 उनको शब घटना स्थल भन्दा निकै टाढा नारीदाङ भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । अर्को बेपत्ता स्वास्थ्यकर्मीको खोजी भईरहेको उनले बताए ।

  शनिबार डोटी स्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनारमा नुहाउन गएका डडेल्धुरा अस्पतालमा कार्यरत चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो । बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट (एचए) विनय सिंह बेपत्ता भएका थिए ।