धनगढी पोष्ट
बिहिबार, १८ बैशाख २०८२ मा प्रकाशित
धनगढी । सृजनशील बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड झलारी कन्चनपुरले आफ्ना कर्मचारीहरुको लागि मोटिभसनल कक्षा संचालन गरेको छ ।
धनगढीमा बिहीवार संचालन गरिएको एक दिने मोटिभेसनल कक्षामा सहकारीका ६५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अहिलेको अवस्थामा कर्मचारीहरुलाई मोटिभेट गरेर सहकारीका सही जानकारी आम जनतामा प्रवाह गर्न कक्षा संचालन गरिएको सृजनशील बचत तथा ऋण सहकारीका कार्यकारी प्रमुख मदन भट्टले बताए ।
‘सहकारीको बिकास र सफलतामा महत्वपुर्ण भुमिका हुने कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि सहकारीले बिभिन्न कार्यक्रमहरु गदै आएको छ । अहिले सहकारी प्रति जुन नकारात्मक धारणा सिर्जना भएको छ, यसले राम्रो गरिरहेका सहकारीले पनि राम्रोसँग प्रचार प्रसार गर्न नसकेको अवस्था छ ।’ कार्यकारी प्रमुख भट्टले भने ‘सही कुरा समाजमा सम्वोधन गर्न नसकेको हुनाले कर्मचारी मार्फत समाजमा सही सुचना प्रवाह गर्न कर्मचारीहरुलाई मोटिभेट गर्न कार्यक्रम गरिएको हो ।’
सिर्जनशील सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सकारीका संचालक समिति सदस्य पुष्पराज भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सहभागीहरुलाई मोटिभेसनल स्पीकर डा. तारा जी ले मोटिभेट गरेका थिए । कन्चनपुरको झलारीमा केन्द्रिय कार्यालय रहेको सृजनशील बचत तथा ऋण सहकारी सुदुरपश्चिमको अग्रणी सहकारी हो ।