धनगढी पोष्ट
बुधबार, २१ जेठ २०८२ मा प्रकाशित
चालु आर्थिक वर्ष २०८१÷०८२ सकिन ४३ दिन बाँकी रहँदा सुदूरपश्चिम प्रदेश सरकारले ३८ दशमलव ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले जेठ चौथो सातासम्म कुल विनियोजित बजेट मध्य १२ अर्ब २० करोड ४४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालय सुदूरपश्चिमका प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीका अनुसार चालुतर्फ छ अर्ब ३८ करोड ७२ लाख ४६ हजार रुपैयाँ अर्थात ४९ दशमलव ९६ प्रतिशत खर्च भएको छ, भने पुँजीगत बजेट (विकासको काममा खर्च हुने बजेट) पाँच अर्ब ८२ करोड ३७ लाख ३३ हजार रुपैयाँ अर्थात ३१ दशमलव ५ प्रतिशत खर्च भएको छ ।
प्रदेश सरकारले चालु तर्फ १२ अर्ब ७७ करोड छ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको थियो भने पूँजीगत तर्फ १८ अर्ब ७५ करोड ५९ लाख ७३ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
प्रदेश सरकारले अझै १९ अर्ब ३३ करोड २१ लाख ६३ हजार भन्दा बढी बजेट खर्च गर्न बाँकी रहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय सुदूरपश्चिमले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक जोशीका अनुसार विगतका आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्ममा छ प्रतिशत कम बजेट खर्च भएको छ । बजेट ढिलो गरी आएकाले गर्दा पनि प्रक्रियागत कामहरु अगाडि बढाउन ढिलाई भएकाले बजेट खर्च हुन नसकेको उनले बताए । अब बजेट खर्च बढ्नुका साथै भुक्तानीहरु हुने भएकाले बजेट खर्च बढ्ने उनको भनाइ छ । कुल बजेटको ६० देखि ६५ प्रतिशत जति खर्च हुने अनुमान गरिएको उनले बताए ।
चालु आर्थिक वर्ष २०८१÷०८२ शुरु भएको दुई महिनापछि गत असोज ६ गते सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सरकारको बजेट पारित भएको थियो । प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गर्ने र सभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर यसअघिको सरकार अल्पमतमा परेपछि सदनमा पेश गरेको बजेट पारित हुन सकेन । बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश बजेटविहीनको अवस्थामा थियो ।
अघिल्लो सरकारले बजेट पारित गर्न नसकेपछि नयाँ सरकार गठन भएपछि अघिल्लो सरकारले ल्याएको आकारकै बजेट भदौ ३१ गते प्रदेश सभामा पेश भएको थियो । प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ३१ अर्ब ५३ करोड ६६ लाख २१ हजार रुपैयाँ रहेको छ ।